कञ्चनपुर । चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ।कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादसैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन्।



जारी निषेधाज्ञाअनुसार दसैँका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्नमा रोक लगाइएको छ।चाडपर्व मनाउँदा एकाघरमा बसोबास गर्दै आएका परिवारका सदस्यको बीचमा मात्र मनाउन पाइनेछ। अनावश्यकरूपमा हिँडडुल गर्न, भेला जमघट नगर्न र जात्रा तथा मेलाहरुको आयोजना गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ।
यस्तै निषेधाज्ञामा अवैध मदिरा उत्पादन बिक्री, वितरण तथा उपभोग गर्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, होहल्ला गर्ने र तीव्ररुपमा सवारीसाधन चलाउने कार्य गरेको पाइए कानुनी कारबाही गरिने उल्लेख गरिएको छ।चाडपर्वका अवसरमा जुवातास र गैरकानुनीरूपमा चिठ्ठा खोल्ने तथा कहीँकतै त्यस्ता क्रियाकलाप भएको पाइएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत भनिएको छ।


























