२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

हवाइ सेवा निरन्तरताको खाँचो

धनगढीबाट बझाङसम्म हवाइ सेवा मंगलबाट सुरु भएको छ । समिट यअरको यात्रुवाहक जहाज धनगढीबाट बझाङका लागि उडेको हो । धनगढीबाट १८ यात्रु लिएर दिउँसो बझाङ पुगेको समिट यअरको विमान दिउँसोनै बझाङबाट यात्रु लिएर धनगढी आयो । योसँगै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा हवाइ सेवा विस्तार शुरु भएको छ ।

तत्कालका लागि बझाङमा सातामा दुई दिन हवाइ सेवा सञ्चालन हुने बताइएको छ । यस्तै डोटीको दीपायल र बैतडीको पाटन विमानस्थलमा पनि यही साताबाट हवाइ सेवा सुरु गर्ने समिट यअरको तयारी छ । निजि क्षेत्रको यो विमान कम्पनीले हरेक हप्ताको सोमबार र शुक्रबार बाजुराको कोल्टी विमान स्थलसम्म हवाइ उडान गर्दै आएको छ ।

सुदूरपश्चिममा लामो समयदेखि बन्द रहेका पहाडी जिल्लाका तीन वटा विमानस्थलमा धनगढीबाट नियमित हवाइ उडानका लागि समिट यअरले कार्यतालिका समेत नागरिक उड्ययन प्राधिकरणलाई बुझाइसकेको छ ।

समिट यअरका अनुसार धनगढीबाट अछामको साँफेबगरसम्म पनि उडान भर्ने तयारी भइरहेको छ । पाटन, देवल, दीपायलमा विमानस्थल कालोपत्रे गरिएपछि पहिलो पटक नियमित रुपमा हवाइ उडान हुन लागेको हो । कोल्टी र साँफेबगरमा यसअघि उडान भर्दै आएको भए पनि नियमित हुन सकेको थिएन ।

नागरिक उड्ययन प्राधिकरणले धनगढी–दीपायल, धनगढी–पाटन र धनगढी–देवल रुटमा हवाइ भाडादर पनि निर्धारण गरिसकेको छ भने आवश्यक प्राविधिक जनशक्ति पनि पठाइएको छ । यी तीन वटै विमानस्थलको स्तरोन्नतिपछि केही दिनअघिमात्र उद्घाटन गरिएको थियो भने समिट यअरले परिक्षण उडान पनि भरेको थियो ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा धनगढी विमानस्थलबाट क्षेत्रीय उडानका लागि धेरै पहिलेदेखि माग उठ्दै आएको थियो । क्षेत्रीय उडान भएपछि पहाडी जिल्लासम्म पुग्न र त्यहाँबाट तराइ आउन निकै सहज हुने छ ।

विगतमा नियमित हवाइ उडान हुने सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थल लामो समयदेखि बन्द रहे । पाटन विमानस्थल साढे दुई दशक बढी समयदेखि बन्द छ । डोटी र बझाङ विमानस्थल पनि बन्द भएको लामो समय भयो । बन्द हुँदा गौरचरणमा परिणत भएका यी विमानस्थलको धावन मार्ग कालोपत्रेसँगै स्तरोन्नतिको काम भएको छ ।

हवाइ सेवा विस्तार भएसँगै आवतजावतमा सहज हुने छ नै यसले पर्यटन विकासमा समेत टेवा पुग्ने देखिन्छ । सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा विस्तार हुनुपर्ने सुदूरपश्चिमेलीले लामो समयदेखि सरकारसँग माग गर्दै आएका थिए । निजि क्षेत्रमात्र होइन, सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि आफ्ना विमानहरुबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हवाइ सेवा सञ्चालन गर्नुपर्छ ।

अहिले तोकिएको भाडा महङ्गो भयो भन्ने आवाजहरु उठ्न थालेका छन् । उचित भाडादर कायम गर्नुपर्छ । विभिन्न कारण देखाएर हवाइ सेवा बन्द गर्ने कार्य अब गरिनु हुँदैन । पहाडी जिल्लामा हवाइ सेवालाई निरन्तरता दिन प्राधिकरण तत्पर हुनुपर्छ ।   

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।