गौरव बिष्ट/कञ्चनपुर- जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. १२ को मताहा खल्ला वसन्तपुरमा वनेको अव्यवस्थित कल्भटका कारण यहाँका नागरिकलाई निकै सास्ती भोग्नु परेको छ । उक्त ठाँउको कल्भट निर्माणका लागि पटक–पटक गरेर २५ लाख भन्दा वढि लगानी गरेपछि वल्ल कल्भट निर्माण भएको थियो ।



कल्भट निर्माण गर्दा सडकको सतह भन्दा बढी उचाई गरेर वनाउदा अहिले कल्भटनै दुर्घटनाको मुख्य कारण वनिरहेको छ । कल्भटको दायाँ–वाँयाको सडकको भागलाई मर्मत सम्भारमा समेत यहाँका जनप्रतिनिधि लगायत सरोकारवालाहरूले चाँसो नदिएको वडा नं. १२ का स्थानीयहरुको आरोप छ ।
नागरिकको पटकपटकको खवरदारी पछि वल्ल कल्भट त निर्माण भयो । तर यहि कल्भटका कारण दिनहु यहाँका नागरिकले सास्ती बेहोर्नु परिरहेको स्थानीय केशवराज पाण्डेयले वताए ।
केहिदिन पहिले मात्रै एक जना किसानको खेत बाट धानले भरिएको बैलगाडा लियर जाँदा कल्भटको उचाईका कारण दुर्घटना हुन पुगेको थियो । कल्भटको दाँयावाँयाको भागको सडकलाई तत्काल व्यवस्थित नगरिए दुर्घटना जोखिम अझै वढ्नसक्ने पाण्डेयले जनाए १२ नं वडाको वढि आवतजावत हुने उक्त सडकमा थुप्रै नागरिकले बैलगाडा मार्फत अन्नवाली घर भित्र्याउने गर्दछन ।
दिनहुँजसो यातायातका साधन आवतजावत गर्दा धेरै जोखिम मोलेर यात्रा गर्नुपरेको हुदाँ समयमै सरोकारवालाहरुको ध्यान जानु आवश्यक देखिन्छ ।
तर सोही वडाका वडा अध्यक्ष बाले रानाले असार मसान्तमा काम सम्पन्न गरी ग्रावेल हाल्न नसक्दा भरान गरेको माटो बर्षातको पानीले बगाए पछि यस्तो अवस्था हुन पुगेको बताए ।

























