काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ।
यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ थियो ।पछिल्लो २४ घण्टामा थप १,५५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७५ हजार ८०४ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४ हजार २५२ रहेको थियो ।
मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१४ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।

























