२ असार,काठमाडौं । म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित सबै खेलाडीले अन्तिम सफाइ पाएका छन् ।
सर्वोच्च अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो ।
२०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालिन कप्तान सागर थापासहित खेलाडीलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई २०७५ जठ २४ गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो । उनीहरुविरुद्ध राज्यविरुद्धको कसूरमा मुद्धा चलाइएको थियो ।
आज सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै उनीहरुमाथि लगाइएको मुद्धाको कानुनी आधारमाथि प्रश्न उठाएको छ ।
तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् ।
नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर जानीजानी हारेको भेटिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिएका थिए । उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार डलरदेखि लिने गरको प्रहरीको दावी थियो ।