अछाम- जिल्लाको कमलबजारमा रीयल टाईम पीसीआर परिक्षण प्रयाेगशालाकाे उद्घाटन गरिएको छ ।
नोभेल कोरोना भाईरस (कोभिड-१९) को परिक्षणका लागि स्थापना गरिएकाे प्रयाेगशालाकाे अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य यज्ञ बाेगटीले उद्घाटन गर्नुभयाे । मेसिनकाे उद्घाटन गर्दै सांसद बाेगटीले विश्वभर महामारीको रुपमा फैलिरहेकाे काेराेना भाईरसकाे राेकथाम तथा नियन्त्रणका लागि अछाम तथा छिमेकी जिल्लाका स्थानीयलाई प्रयाेगशालाले राहत पुग्ने बताउनु भयाे । प्रयाेगशालाकाे दिगाे सञ्चालनका लागि आफ्नाे तर्फबाट पूर्ण सहयाेग रहने उहाँको भनाइ छ ।



नगरपालिकाले करिब एक कराेडकाे लागतमा प्रयाेगशाला स्थापना गरि नमुना परिक्षण समेत सफल भए पछि मेसिनको आज उद्घाटन गरिएको गरिएको हाे । नमुना परिक्षणमा १७ जनाकाे स्वाब परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएकाे थियाे ।
गत असाेज १४ गते पिसिआर मेसिन तथा प्रयोगशालाको गुणस्तर लगायतका अवस्थाको बारेमा जानकारी लिन सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी सहितको टोलिले पिसिआर मेसिनको गुणस्तर तथा संचालनको तयारी र अन्य अवस्थाका बारेमा जानकारी लिनुभएकाे थियाे ।
टाेलीले प्रयाेगशाला गुणस्तरीय रहेकाे र सञ्चालनका लागि आवश्यक सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरेकाे थियाे ।
हाल ५ जना स्वास्थ्यकर्मी भर्ना गरि मेशिन सञ्चालनमा ल्याईएकाे छ ।
५ लाखका स्वास्थ्य उपकरण समेत खरिद गरिएकाे र जिल्लाका अन्य स्थानीय तह तथा छिमेकी दैलेख जिल्लाका केही स्थानीय तहसंग समन्वय भैरहेकाे नगरप्रमुख ओमप्रकाश बिष्टले बताउनु भयाे ।
कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको प्रयाेगशालामा भारतबाट फर्केका तथा काेराेनाका सम्भावित लक्षण भएका व्यक्तिको पीसीआर परिक्षण गरिने बताईएकाे छ ।

























