धनगढी, २१ असोज । सुदूरपश्चिममा थप एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पताल, डडेल्धुरा अस्पताल, र बझाङ अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २३ जनाको कोरोना परीक्षण भएकोमा एक सय १९ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ५४ र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि भएको छ ।



प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार वडा नखुलेका २८ जना, वडा नम्वर ३, ५ र ८ का तीनर तीन जना, वडा नम्वर १ का दुई जना, वडा नम्वर २ र ४ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै टीकापुर नगरपालिकाका १० जना, गोदावरी नगरपालिका वडा नम्वर १ का दुई जना र भजनी नगरपालिका वडा नम्वर ६ का एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार कञ्चनपुरको पुनरवास नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको कोरोना परीक्षण भएकोमा डडेल्धुरामा ४८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रशाद भूसालका अनुसार दार्चुलाका ४६ र डोटी २ जना गरि ४८ जनामा कोरोना पुष्टी भएको हो ।
उता जिल्ला अस्पताल बझाङको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु थलरा गाउँपालिकाका हुन् । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार सात सय ८० पुगेको छ । सामाजी बिकाश मन्त्रालयका अनुसार कोरोनाबनट मृत्यु हुनेको संख्या १८ रहेको छ ।




















