दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। दुबईमा सोमबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो।



बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे। दिल्लीका कागिसो राबडाले ४ विकेट लिए। एन्रीच नोर्ट्जे र अक्षर पटेलले २/२ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो। दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले चौंथो जित निकालेको छ। दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ। तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो। बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ।

























