२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

प्रदेश ५ राजधानी विवाद : रुपन्देहीमा कांग्रेसको आन्दोलन तय, नेकपाको ह्वीप

 बुटवल । रुपन्देहीमा यतिबेला नेकपाका महासचिव विष्णु पौडेलले चुनावका बेला गरेको भाषणको भिडियोको अंश सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यसमेत रहनु भएका पौडेलले २०७४ सालको चुनावमा बुटवललाई राजधानी बनाउने मुख्य नारा बनाउनुभएको थियो । त्यसबेला उहाँले तत्कालिन नेकपा एमालेको प्रदेशको कार्यालय बुटवलमै स्थापित भइसकेकाले आफ्नो पार्टीले बुटवलमै प्रदेशको राजधानी राख्न चाहेको बताउनुभएको थियो । चुनाब भए लगत्तै तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई तोकेको थियो । सांसद भइसकेपछि पनि पौडेलले जिल्लावासी माझ बुटवलबाट कुनै हालतमा राजधानी नसर्ने दाबी गर्दै आउनुभएको थियो ।

अन्तत : नेकपाका दुइ अध्यक्षको सहमतिले दाङको देउखुरीलाई प्रदेशको राजधानी बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएसँगै अहिले रुपन्देहीको माहोल तातेको छ । नेपाली कांग्रेसले आफ्नो पार्टी नेतृत्वको सरकारले बुटवलमा कायम गरेको प्रदेश ५ को राजधानी कम्युनिष्ट पार्टीले सार्न लागेको भन्दै विरोधमा उत्रिएको छ । प्रदेश सभामा प्रस्ताव पेश हुने वित्तीकै रुपन्देहीका सडकमा टायर बालेर विरोध प्रदर्शन भयो । यहाँका स्थानीय दल तथा व्यवसायी संघ संस्थाहरुले पनि राजधानी सार्ने निर्णयको विरोध जनाएका छन् ।

नेपाली कांग्रेसका नेता तथा यस क्षेत्रका प्रतिनिधि सभा सदस्य बालकृष्ण खाँडले प्रदेश सरकारको प्रस्ताव अनुचित रहेको भन्दै संसोधन गर्न आग्रह गर्नुभयो । हिमालय टाइम्ससँग कुरा गर्दै उहाँले महामारीको बेलामा प्रदेश सरकारले जनतालाई जिस्काएको आरोप लगाउनुभयो । ‘यस्तो महामारीको बेलामा जनता आन्दोलित भएभने प्रदेश र संघिय सरकारले सम्हाल्न सक्दैन ।’ उहाँले भन्नुभयो ‘यो उचित निर्णय पनि होइन । त्यसैले प्रस्तावलाई संसोधन गरेर मात्र अघि बढाउन मुख्यमन्त्रीलाई आग्रह गर्दछु ।’ खाँडले मुख्यमन्त्रीले विज्ञको छलफल र प्रदेश सभाको समितिको प्रतिवेदनलाई पन्छाएर प्रस्ताव ल्याएको आरोप लगाउनुभयो । उहाँले भौतिक पूर्वाधारको अवस्था, सडक सञ्जाल, अन्तराष्ट्रिय विमानस्थल, सुरक्षा अवस्था सबै विश्लेषण गरेर तत्कालिन सरकारले बुटवललाई राजधानी तोकेको बताउनुभयो ।

कांग्रेसले तय ग¥यो राँके जुलुसदेखि प्रदेश सभा घेराउ सम्मका कार्यक्रम

शनिबार मात्र नेपाली कांग्रेसको जिल्ला, क्षेत्र, नगरको संयुक्त बैठकले आन्दोलनको कार्यक्रम तय गरेको छ । जस अनुसार आज साँझ मशाल जुलुस गर्ने, आइतबार रुपन्देही बन्दको कार्यक्रम गर्ने, १९ गते प्रदेश सभा भवन घेर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका बुटवल नगरसभापति खेलराज पाण्डेले जानकारी दिनुभयो । त्यसै गरी नेकपा सांसदको घर अगाडी कालो झण्डा प्रदर्शनका कार्यक्रम पनि रहेको उहाँले बताउनुभयो ।

प्रदेशको राजधानी सार्ने प्रस्तावको निर्णयको विरुद्ध नेकपा जिल्ला समितिले मुख नखोलेको भएपनि नगर कमिटीहरुले तथा कार्यकर्ताहरुले विरोध जनाएका छन् । नेकपा रुपन्देहीका अध्यक्ष तथा बुटवलका मेयर शिव सुवेदीसँग प्रतिक्रिया लिन खोज्दा राजधानीको कुरा प्रदेस सभाको हो भन्दै पन्छिए । तर नेकपाको बुटवल नगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले भने विज्ञप्ती निकालेर विरोध जनाउनुभएको छ । उहाँले बहुसंख्यक जनताको केन्द्र र सबै खालका पूर्वाधार सम्पन्न बुटवलबाट राजधानी सार्ने निर्णयको पुनर्विचार गर्न आग्रह गर्नुभयो । ‘राजधानीको सन्दर्भमा भए गरेका तयारी, भौतिक पूर्वाधारमा राज्यकोषबाट गरिएको व्यवहार र सामुदायीक संस्थाहरुले पुर्याएको योगदान र यस क्षेत्रका बहुसंख्यक बासिन्दा विपरित हठात राजधानी सार्ने प्रस्तावले हामीलाई दुखित तुल्याएको छ ।’ विज्ञप्तीमा उहाँले भन्नुभएको छ ।

त्यसै गरी बुटवल नजिकको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले पनि राजधानी सार्ने निर्णयको पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । ठूलो रकम खर्च गरेर प्रदेश संरचना बनेको अवस्थामा फेरी नयाँ तरिकाले अघि बढ्नु जनभावना विपरित भएको उहाँले बताउनुभयो । ‘यहाँका सामुदायीक संस्थाहरुले आफ्ना भवन दिएका छ् । संरचनामा ठूलो लगानी भएको छ ।’ उहाँले भन्नुभयो ‘करोडौं खर्च गरेर संरचना तयार भइसकेको अवस्थामा फेरी नयाँ ठाउँमा संरचना बनाउन खर्च गर्नु जनताको करको अवमुल्यन हो ।’ मेयर घिमिरेले अरु ठाउँमा पहिले तोकिएकै ठाउँमा राजधानी हुने यहाँ हुन किन नहुने भनि प्रश्न गर्नुभयो ।’

नेकपा संसदीय दलले ह्वीप लगायो  

शनिवार बसेको नेकपा संसदीय दलको बैठकले राजधानीको विषयमा प्रदेस सरकारले गरेको प्रस्तावको पक्षमा नै मतदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री निवासमा झण्डै ६ घण्टा बसेको दलको बैठकले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । ‘बैठकमा सबै सांसदले आ–आफ्नो धारणा राख्नुभयो । कसैले प्रस्तावित ठाउँ ठीक छ भन्नुभयो । कसैले अहिले भइरहेकै ठाउँमा राजधानी यथावत हुनुपर्छ भन्ने धारणा राख्नुभयो ।’ नेकपाका प्रदेश संसदीय दलका सचेतक भुमिश्वर ढकालले भन्नुभयो ‘मतदान हुँदा पार्टीकै पक्षमा सबैले मतदान गर्ने सहमती भएको छ ।’ उहाँले प्रदेश सभामा सांसदहरुले आ आफ्ना विचार राख्न पाउने र मतदान हुँदा पार्टीकै पक्षमा मतदान गर्नुपर्ने जानकारी दिनुभयो । ‘यसमा पार्टीले ह्वीप नै लगाउँछ ।’ ढकालले भन्नुभयो ।

पाल्पाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद तुलाराम घर्तिले पार्टीको निर्देशन मान्नुको विकल्प नरहेको बताउनुभयो । ‘म पार्टीको प्रतिनिधि पनि हो । जनताको प्रतिनिधी पनि हो । जनताको भावनालाई कदर गर्दै पार्टीको हवीपलाई पनि विचार गर्नुपर्ने हुन्छ ।’ उहाँले भन्नुभयो ‘संसदीय दलको बैठकमा मैले पाल्पाली जनताको अपमान हुने गरी मेरो प्रस्तावमा सहमती हुने छैन भनेको छु । तर पार्टीले हिवीप जारी गर्ने वित्तीकै जनताको अभिमतलाई सुरक्षित राख्दै हिवपको पालना गर्नुपर्ने हुन्छ ।’ 

व्यवसायिक संस्थाले राजधानी नसार्न दबाब दिने 

रुपन्देहीका व्यवसायिक संघ संस्थाले राजधानी सार्ने प्रस्ताव सच्याउन र प्रदेश सभामा दर्ता भएको उक्त प्रस्ताव फिर्ता माग गरेका छन् । शनिबार बुटवल उद्योग बाणिज्य संघमा बसेको रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको सञ्जालको बैठकले उक्त निर्णयको बिरोध गर्दै सरकारलाई फिर्ता गर्न दवाव सिर्जना गर्नका लागि संघर्ष समिति समेत गठन गरेका छन् छ । बैठकले बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा १५ सदस्यीय संघष समिति गठन गरेको हो ।

संघर्ष समितिको सदस्यहरुमा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, पश्चिम नेपाल बस व्यबसायी प्रालिका अध्यक्ष दधिराम खरेल लगायत विभिन्न संघ संस्थाका प्रमुखहरु सदस्य छन् । 

बैठकले आईतबार बिहान बुटवलमा बिरोध ¥याली प्रदर्शन गर्ने तथा दिउँसो मुख्यमन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ । त्यस्तै गरी सोमबार बस्ने प्रदेश सभा बैठकलाई प्रभावित पार्नेगरी संसद भवन अंगाडी प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले जानकारी दिनुभयो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।