अत्तरिया, १६ असोज– कैलालीको अत्तरिया र धनगढी बजारका विभिन्न पसलहरुमा छड्के अनुगमन गरिएको छ ।कैलालीका प्र जि अ यज्ञराज बोहरा, नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टका प्रमुख स्वकिय सचिव हितेश ओझासहितको टोलीले अत्तरिया र धनगढी बजार का करिब २० वटा तरकारी थोक र खुद्रा पसलहरुको , 18 ओटा श्रिङ्गार पसल र 10 ओटा खाद्यान्न पसलहरूकोअनुगमन गरेको हो ।



दशै तिहार नजिकिएसँगै बजारमा म्याद नाघेका र लेबल नभएका बस्तुहरु विक्रि वितरण हुन थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशी, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुन मगर, गोदावरी नगरपालीका वडा नं. १ का वडाध्यक्ष शर्मानन्द भट्ट, गुणस्तर तथा नापतौल विभाग धनगढीका पदाधिकारीहरु, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागीतामा अनुगमन गरिएको ओझाले बताए ।
उनका अनुसार मुख्य रुपमा बजारमा प्याजको कालोबजारी रोक्न अनुगमन गरिएको तर उपभोक्ताहरुलाई असर गर्ने विभिन्न म्याद नाघेका र लेबल नभएका बस्तुहरु विक्रि वितरण भैरहेको थाहा पाएपछि श्रृंगार पसल तथा केही किराना पसलहरुमा समेत अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा श्रृंगार पसलहरुमा लेबल नभएका कस्मेटिक सामग्रीहरु फेला परेको बताउदै उनले त्यस्ता सामग्रीहरु तुरुन्त बिक्रि गर्ने कम्पनि तथा होलसेलरलाई फिर्ता गर्न निर्देशन दिएको बताए ।
‘अत्तरियामा बजार अनुगमन गर्दा विभिन्न कस्मेटीक पसलहरुमा म्याद सकिएका र लेबल नभएका सामग्रीहरु भेटिए’ उनले भने ‘त्यस्ता सामग्रीहरुको प्रयोगले विभिन्न रोगहरुको संक्रमण हुनुका साथै मानिसको ज्यानै जान सक्छ, त्यसैले यस्ता सामग्रीहरु हामीले तुरुन्तै फिर्ता गर्ने सम्झौताका साथ पहिलोपटकलाई अल्टिमेटम दिई छोडेका छौ ।’
फेरि पनि त्यस्तै सामग्री बेचिरहेको फेला परेमा पसल सञ्चालकलाई कारबाही गरिने समेत उनले बताए । प्रायजसो अनुगमनका लागी आउँदा पसल सञ्चालकले अग्रिम रुपमा थाहा पाउने तथा सर्तक रहन थालेपनि यसपटक छड्के रुपमा अनुगमन गरिएको ओझाले बताए ।
दशैतिहारलाई लक्षित गर्दै बजारमा म्याद नाघेका खाद्य वस्तुहरुको बिक्रिवितरण बढिरहेको बताउँदै ओझाले बिचबिचमा बजारमा छड्के अनुगमन गरिने बताए ।

























