२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

कञ्चनपुरको कृष्णपुरमा वनकै पदाधिकारीद्वारा बगर अतिक्रमण, २ महिनामा ५० विघा कब्जा

महेन्द्रनगर । कृष्णपुर नगरपालिका–१ पुतली बजारको पश्चिमतर्फ रहेको बगर क्षेत्र स्थानीय तथा वनका पदाधिकारीले अतिक्रमण गरेका छन् । ऐश्वर्या सामुदायिक वनका पदाधिकारी र स्थानीयले ५० विघा बढी बगर क्षेत्र अतिक्रमण गरेका हुन् ।
सामुदायिक वनका पदाधिकारी र स्थानीयले बगर क्षेत्र अतिक्रमण गरेर खनजोत गरेको स्थानीय लोकराज साउँदले बताए । उनका अनुसार धारापानी नदीको किनारको बगर क्षेत्र सामुदायिक वनका पदाधिकारीहरुको संलग्नतामा अतिक्रमण भएको हो ।
‘यहाँको सार्वजनिक जमिन संरक्षण गर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरुकै मिलोमतोमा अतिक्रमण भइरहेको छ,’ उनले भने, ‘अतिक्रमण सुरु भएको २ महिना भयो, सार्वजनिक जमिन अतिक्रमण तथा खनजोत गर्ने कार्य तीब्र रुपमा भइरहेको छ ।’
स्थानीयले अहिले पनि नदी बगरहरु अतिक्रमण गरिरहेको स्थानीय मदन साउँदले बताए । ‘सरकारले कोरोना रोकथामका लागि गरेको लकडाउनको समयमा स्थानीयले बगर क्षेत्र अतिक्रमण गर्ने कार्यलाई तिब्रता दिएका हुन,’ उनले भने,‘अहिले केही व्यक्तिले अतिक्रमण गरेको जमिनमा मकै र तिल लगाएका छन् ।’
ऐश्वर्या सामुदायिक वनका अध्यक्ष इन्द्र बुढा, सहसचिव सोभान कार्कीलगायत स्थानीयले बगर क्षेत्र अतिक्रमण गरेको स्थानीय बताउँछन् । वनका अध्यक्ष बुढा र सहसचिव कार्कीले करिब १ विघा बगर क्षेत्र अतिक्रमण गरेका छन् अन्य बगर क्षेत्र स्थानीयले अतिक्रमण गरेका छन् । सामुदायिक वनमा जिम्मेवार पदमा बसेका व्यक्तिहरुले सार्वजनिक जमिन अतिक्रमण गरेपछि अतिक्रमण गर्ने क्रम बढेको वनका सतिव रत्नादेवी बोहराले बताइन् ।
‘सार्वजनिक अतिक्रमण गर्नेहरुमा वनका पदाधिकारीहरु समेत रहेका छन्,’ उनले भनिन्, ‘हामीले उहाँहरुलाई अतिक्रमण किन गरेको भनेर स्पष्टीकरण माग मागेका छौं ।’ आतिक्रमण गर्नेलाई कारबाहीका लागि वडा कार्यालय र सवडिभिजन वन कार्यालय बाणीलाई पत्राचार गरिएको उनको भनाई छ ।
‘अतिक्रमणको स्थानीयले समेत विरोध गरेका छन्,’ उनले भनिन्, ‘सामुदायिक वनले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुको पहिचान गरिरहेको छ, सबैको पहिचान भएपछि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्छौ ।’ सामुदायिक वनका अध्यक्ष इन्द्र बढाले पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण नगरेको दावी गरे । ‘पछिल्लो समय भइरहेको अतिक्रमणमा मेरो कुनै संलग्नता छैन्,’ उनले भने, ‘मैले त २०४६ सालमा नदीको बगर क्षेत्रमा तारबार गरेको हुँ ।’ अहिले भइरहेको अतिक्रमणमा सहसचिव कार्कीको संलग्नता रहेको उनी बताउँछन् ।
‘सहसचिवले करिब १७/१८ कट्ठा बगर क्षेत्र अतिक्रमण गरेर तिल लगाएका छन्,’ उनले भने, ‘उहाँलाई त्यो क्षेत्रमा खनजोत नर्गनुहोस् भन्दै आएका छौ ।’ अतिक्रण भइरहेको क्षेत्रको संरक्षणका लागि सामुदायिक वनले पहल गरिरहेको उनले बताए । ‘अतिक्रमणबारे वन कार्यालय र वडालाई पनि जानकारी दिएका छौं,’ उनले भने, ‘अब त्यो क्षेत्रमा तारबार गरेर संरक्षण गर्छौ ।’ सामुदायिक वनका सहसचिव कार्कीले आफूले बगर अतिक्रमण गरेको स्वीकार गरेका छन् । ‘मैले त ३/४ कट्ठा मात्रै अतिक्रमण गरेको हो,’ उनले भने, ‘अब अतिक्रमण गर्दैन ।’ सामुदायिक वनका पदाधिकारीकै संलग्नतामा भएको अतिक्रमित क्षेत्र संरक्षणका लागि वडा कार्यालयले पहल गरिरहेको कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले बताए । ‘त्यो अतिक्रमण गरेको क्षेत्रमा तारबार गरेर वृक्षारोपण गरेर संरक्षण गर्छौ,’ उनले भने, ‘अतिक्रमण गर्नेहरुलाई कारबाहीका लागि वन कार्यालयसँग समन्वय भइरहेको छ ।’
अतिक्रमण भएको बगरको संरक्षण गर्न सामुदायिक वनका पदाधिकारीलाई निर्देशन दिएको सवडिभिजन वन कार्यालय बाणीका रेन्जर दुर्गेश धामीले बताए । ‘त्यो क्षेत्रको हामीले अनुगमन गरेका छौं,’ उनले भने, ‘त्यहाँ करिब ५०/६० विघा बगर अतिक्रमण भएको छ, केही पुरानो अतिक्रमण छ भने कही नयाँ अतिक्रमण छ ।’
अतिक्रमणकारीको पहिचान गरि वन ऐन २०७६ अनुसार कारबाही गरिने उनी बताउँछन् । ‘अतिक्रमण गर्ने व्यक्तिहरुको पहिचान गर्ने काम अगाढी बढाएका छौं,’ उनले भने,‘केहीको पहिचान खुलेको छ, केहीको बाँकी छ, सबैको पहिचान भएपछि कारबाही प्रक्रिया अगाढी बढाउँछौं ।’
Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।