विगतका वर्ष चाडपर्व नजिकिँदै गर्दा स्वदेश फिर्नेको लर्को हुन्थ्यो त्रिनगर–गौरीफन्टा नाकामा। बर्षभरी मुगलानमा पसिना बगाएर पनि दशगजामा पुग्दा दंग हुन्थे नेपालीहरु।



यस बर्ष भने नाकाको दृश्य बदलिएको छ। अहिले दसैं र तिहार लगायत पर्व नजिकिँदै छन् तर सर्वसाधारण भने बाहिरिइरहेका छन्। ‘चार महिना अगाडि यसै नाकाबाट कोरोना त्रासले घर फर्किएको थिए,’ डडेल्धुरा अजयमेरुका प्रयाग टमटाले भने, ‘भारतमा अहिले कोरोना झनै बढेको छ तर छाक टार्नका लागि भएपनि भारत जानै प¥यो।’ चाडपर्व परिवारसंगै मनाउने इच्छा भएपनि बाध्य भएर भारत जानपरेको तर्क उनको छ।
उनीसंगै थिए डडेल्धुराकै विमल नेपाली। उनले भने, ‘रोगभन्दा भोक ठूलो हुँदो रहेछ भन्थे हो रहेछ। दशैँको मुखमा भारत जानु पर्दा खिन्न भएको छु।’ महामारीका बीच भारत जानेमा सबैभन्दा बढी उताको आधारकार्ड, रोजगारी र दैनिक ज्यालादारी मजदुर तथा पेन्सनवाहकहरू छन्।
त्रिनगर–गौरीफन्टा नाका भएर आज मात्रै एक हजार ६ सय बढि नेपाली भारत गएका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार आज एकैदिन एक सय ९६ महिला, एक हजार दुई सय ५० पुरुष र एक सय ६३ जना बालबालिका गरी एक हजार ६ सय नौँ जना भारत पसेका हुन्।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट डोकेबजारका अनुसार अहिले भारत जाने ५, १० जना बाहेक सबै नेपाली हुने गरेका छन्। असोजका ६ दिनमा सो नाका भएर ६ हजार बढि नेपाली भारत गएका छन्। असोज १ गते ५ सय ८१ जना, असोज २ गते नौँ सय ६४ जना, ३ गते ९ सय ४६ जना, ४ गते एक हजार ३६ जना र ५ गते एक हजार दुई सय २७ जना नेपाली भारत पसेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट डोकेबजारले जनाएको छ।
प्रशासनले दिएको जानकारी अनुसार आज सोही नाका भएर दुई सय सात जना मात्रै नेपाली स्वदेश फर्किएका छन्।

























