२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

दसैंका लागि मुस्ताङमा भेडा च्याङ्ग्रा तयार, तर व्यापारी पुग्‍न सकेनन्‌

म्याग्दी : हिमालपारिको जिल्ला मुस्ताङमा दशैं/तिहारका लागि भेडा च्याङ्‍ग्रा तयारी अवस्थामा रहेका छन्।

तर, विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण जोखिम र अवरुद्ध बेनी जोमसोम सडक खण्डका कारण यस वर्ष व्यापारीहरू भेडा च्याङ्‍ग्रा खरिदका लागि मुस्ताङ जान सकेको छैनन्।

विगतका वर्षहरूको तुलनामा यस वर्ष मुस्ताङबाट कम संख्यामा भेडा च्याङ्‍ग्रा बाहिरिने स्थानीय व्यापारीहरूले बताएका छन्‌। बाहिरिने भेडा च्याङ्‍ग्राको संख्या घट्ने निश्चित भएसँगै भाउ महगिने भएको छ। कोरोना भाइरसको जोखिमसँगै चिनियाँ पक्षले नाकामा निकै कडाई गरेको छ।

छिमेकी जिल्लाबाट स्थानीय व्यापारीले ल्याउन नपाएको र बाहिरी जिल्लाका व्यापारी समेत सहजै उपल्लो मुस्ताङसम्म पुग्न नसकेका कारण यस वर्ष जिल्लाबाट कम संख्यामा भेडा च्याङ्‍ग्रा झर्ने र मूल्य बढी पर्ने विगत ९ वर्षदेखि भेडा च्याङ्‍ग्राको व्यापार गर्दै आएको विशाल तामाङले बताए। यतिखेर भेडा च्याङ्ग्रा खरिद गर्न अन्य जिल्लाबाट जाने व्यापारी नियमअनुसार १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। यसैकारण व्यापारीहरू सहजै मुस्ताङ जान सक्‍ने अवस्था देखिएको छैन।

व्यापारी नआउँदा  भेडा च्याङ्ग्रा बेच्‍न नसकिएको स्थानीय व्यापारी स्याम्बु लामाले बताए। माथिल्लो मुस्ताङका किसान र व्यापारीलाई म्याग्दीको सिमानासम्म भेडा ल्याउन अनुरोध गरेकाले त्यहाँबाट खरिद गरी लैजाने तयारीमा तल्लो क्षेत्रका व्यापारी छन्। खरीद र ढुवानी नै महँगो परेपछि महँगोमा बेच्न बाध्य हुनुपर्ने व्यापारीहरू बताउँछन्‌।

मुस्ताङबाट ल्याउँदा स्थानीय तहलाई समेत कर तिर्नुपर्ने, ढुवानी लगायतका खर्चका साथै स्थानीय व्यापारीले समेत भाउ बढाउने गरेको अवस्थामा यसवर्ष एउटै च्याङ्ग्रा ५ देखि ७ हजारसम्म महँगो हुने व्यापारीहरूले अनुमान गरेका छन्‌।​कोरोनाको जोखिमले शहरबजारमा बसोबास गर्नेसमेत गाउँतर्फ लागेको र बजार क्षेत्रमा संक्रमण जोखिम बढेकाले केही व्यापारीले यसवर्ष खरिद नगर्ने सोच बनाएपछि सीमित व्यापारीले नै विक्री गर्नुपर्ने अवस्था छ।

भेटेनरी अस्पताल एवम् पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले समेत यसवर्ष मुस्ताङबाट कम संख्यामा भेडा च्याङ्ग्रा निकासी हुने भएकाले मूल्य बढ्न सक्ने भएपनि बजारसम्म ल्याउन सकिने या नसकिनेबारे अझै एकीन भइनसकेको बताए। रोज्जा च्याङ्ग्रा ३५ हजार रुपैयाँसम्म विक्री भएको जानकारी पाएपनि केन्द्रमार्फत मुस्ताङमा मूल्य तोक्‍ने र निकासी हुने भेडा च्याङ्ग्राको स्वास्थ्य परीक्षण थाल्‍ने कुसुमले बताए।

गत वर्ष मुस्ताङबाट २५ हजार हाराहारीमा भेडा च्याङ्ग्रा निर्यात भएकोमा यसवर्ष करिब ४० प्रतिशतले कमी हुने अनुमान गरिएको छ। हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडा च्याङ्ग्राको मासु स्वादिलो मानिन्छ।

तिब्बत बाहेक उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिका, लो घेकर दामोदर कुण्ड र वारगुङ मुक्ति क्षेत्र गाउँपालिका भेडा च्याङ्ग्राको पकेट क्षेत्र मानिन्छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।