कञ्चनपुरमा निषेधाज्ञा ६ दिन फेरि थपिएको छ । जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै असोज १ गते राति १२ बजे देखि असोज ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको जनाएको हो ।
यस अघि १९ गते शुक्रबार राति १२ बजे देखि ३१ गते राति १२ बजेसम्मको लागि जारी गरिएको निषेधाज्ञा ६ दिन थपिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी जानकारी दिएको छ ।



थपिएको अवधिमा जोरबिजोर संख्यामा निजी सवारी साधन सञ्चालन गर्नुपर्नेछ । पहिलाको जस्तै गरी बिहान ६ बजेदेखि साँझ साढे पाँच बजेसम्म मात्रै व्यापार व्यावसाय तथा यातायात सञ्चालन गर्न पाइने सूचनामा भनिएको छ ।
नेपाल सरकारले सुरक्षाको मापदण्ड अपनाएर होटेल रेष्टुरेन्ट सञ्चालन गर्ने भनिए पनि कञ्चनपुरमा भने सबै होटेल रेष्टुरेन्ट सञ्चालन गर्न नपाईने भएको छ । साथै यो बेलामा कुनै पनि मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाईने छैन भने भिडभाड र जुलुस गर्न पनि पाईने छैन् । सवारी साधनहरु पनि जोर विजोर प्रणली अनुसार नै लागु हुनेछन् । आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सास्कृतिक गतिविधिहरु सञ्चालन गर्न पनि रोक लगाईएको छ ।
शैक्षिक संस्थाहरु अनलाईन माध्यमबाट संचालन गर्न पाईने भएको छ । प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाइने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाइने छैन् ।
बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।

























