धनगढी–धनगढी स्थित दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एक जना पक्राउ परेका छन्। बुधवार राती १ बजे कैलालीको हसुलिया बाट चक्र रावललाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



गत शुक्रवार दिनेश सञ्चार गृहमा प्रवेश गरी आक्रमणकारी करिब १५–२० जनाको समूहले साङ्घातिक आक्रमण गरेको थियो। दिनेश सञ्चार गृहमा कसले गरायो त साङ्घातिक आक्रमण ? के भन्छन्–धनगढीका मेयर !
सह–सम्पादक जनक विष्ट, प्रबन्धक अमिता कुँवर र प्राविधिक कल्पना सिंहले आफूमाथि कुटपिट गरेको भन्दै ५ जनाको नाममा किटानी जाहेरी दिएका थिए। किटानी जाहेरी दिएका मध्ये यसअघि मङ्गलवार धनगढी ५ जाइका सरोज थापा पक्राउ परेका थिए। प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले ३ जनाको खोजीभइरहेको बताए।
समाचारको विषयलाई लिएर गत शुक्रवार आक्रमणकारीहरूको समूह दिने सञ्चार गृहमा प्रवेश गरेको थियो। धनगढीका रोशन बिक हिरासतमा मृत्यु प्रकरणलाई लिएर हत्या गरीएको समाचारमा उल्लेख हुनुपर्नेमा आत्महत्या किन राखिएको भन्दै आक्रमणकारीहरूको समूह एकाएक कुटपिटमा उत्रिएको थियो। प्रहरीले अन्यको खोजीभइरहेको जनाएको छ।

























