काठमाण्डौ –यातायात व्यवसायीहरुले वातावरण सहज बने लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन् । यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरुले सहज वातावरण भए लामो दुरीको यातायात सेवा सञ्चालन गर्न सकिने प्रस्ताव गरेका हुन् ।महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले ७ गतेपछि सार्वजनिक यातायात चलाउने तयारीमा रहेको बताए। उनले सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने अव्यवहारिक निणर्य गर्दा आफूहरुले गाडी थन्काउनु परेको उनको भनाइ छ।
‘चलाउन नपाएर गाडी बिग्रिएका छन्। जतिसक्दो चाँडो चलाउन पाए हुन्थ्यो भन्ने छ,’ उनले भने, ‘जिल्ला होइन रुट अनुसार गाडी चल्न दिनुपर्छ।’उनले यातायात व्यवस्था ऐनमा प्रष्ट रुपमा छोटो दूरी, मध्यम दूरी र लामो दूरी भनी सार्वजनिक यातायातका लागि रुट निर्धारण गरेको बताउँदै एउटा जिल्लाबाट अर्को जिल्लामा जान नपाउने भन्ने अव्यवहारिक रहेको दाबी गरे।उनले साउन ७ गतेसम्म लकडाउन भएकाले अब सरकारले निर्णय गर्दा गाडीलाई उपलब्ध गराएको रुट अनुसार छोटो मध्यम र लामो दूरी गरी ३ वर्गमा विभाजन गर्नुपर्ने बताए।
यातायात व्यवसायीहरुका करिब ४ महिनादेखि गाडी बन्द भए पनि बैंकले फोन गरी किस्ता तिर्न ताकेता गरेको गुनासो गर्दै आएका थिए। व्यवसायीले किस्ता तिर्ने समय कम्तिमा एक वर्ष सार्नुपर्ने माग सरकार समक्ष राखेका थिए।शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा कोरोनाको महामारी प्रभावित व्यवसायीलाई ६ महिनादेखि १ वर्षसम्म किस्ता तिर्ने समय थप गरेको छ। व्यवसायीले महामारीको अति प्रभावित क्षेत्रमा यातायात पर्ने दाबी गर्दै आएका छन्।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सवारी सञ्चालन गर्दा कोरोनाले पार्न सक्ने प्रभाव नियन्त्रण र न्यूनीकरणका विषयमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । सरोकारवालसँगको वृहत छलफलपछि सवारी सञ्चालनका लागि ‘एक्सन प्लान’ बनेको उनले बताए । ‘एक्सन प्लान’ मा कुन जिम्मेवारी कुन निकायले लिने भन्ने सन्दर्भमा जिम्मेवारी समेत तोकिएको र त्यो जिम्मेवारीको डिटेल वर्क आउट गर्दै अर्को बैठकमा निष्कर्ष निस्किने बताए ।
विभागमा भएको छलफलमा यातायात कार्यालयका प्रतिनिधि, यातायात व्यवसायी, उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधि, ट्रफिक प्रहरी प्रमुख, मजदुर ट्रेड युनियनका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि समेत छलफलमा सहभागिता रहेका थिए ।