सुदूरपश्चिममा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार डडेल्धुरा अस्पतालको प्रयोगशाला, सेती अस्पतालको प्रयोगशाला र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २८ जनामा कोरोना पुष्टि भएको हो ।



डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ५२ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालले जानकारी दिए । उनले दुवै संक्रकित डडेल्धुराको परशुराम नगरपालिकाका–६ का रहेको बताए ।
सेती प्रादेशिक अस्पतालको प्रयोशालामा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार संक्रमित कञ्चनपुरका १२ र कैलालीका आठ जना रहेका छन् ।
कैलालीको धनगढी उपमहानगरपलिकाका चार जना, बर्दगोरीया गाउँपालिका- ३ का दुई जना, टीकापुर नगरपालिका- ८ का र लम्कीचुहा नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का १० जना र वडा नम्वर १० का दुई जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोशालामा पछिल्लो २४ घण्टामा १ सय २४ जनाको कोरोना परीक्षण भएकोमा डोटीका पाँच र अछामका एक जना गरी ६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए । उनले संक्रमित डोटीको सायल गाउँपालिकाका तीन, केआईसिंह गाउँपालिकाका दुई र अछामको रामारोशन गाउँपालिकाका एक जना रहेको बताए ।

























