स्काईलार्क एग्रो अविनाश ग्रुप नारायणगढले भरतपुर अस्पतालद्धारा सञ्चालित भरतपुर कोभिड १९ प्रयोगशालालाई एक थान पिसिआर मेसिन सहयोग गरेको छ । ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले आज मेसिन अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र प्रयोगशाला प्रमुख डा। नीतु अधिकारीलाई हस्तान्तरण गरे। जर्मन कम्पनीको क्यूटावर ८४ स्वचालित पिसिआर मेसिन सहयोग गरिएको हो । ग्रुपले रु ५० लाख हाराहारीको लगानीमा सो मेसिन खरिद गरी भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थितीमा हस्तान्तरण गरेको हो ।



विष्टले सामाजिक उत्तरदायीत्व अन्तर्गत मेसिन हस्तान्तरण गरिएको जानकारी दिए । कोरोना सङ्क्रमण वढ्दै जाँदा ग्रुपले अत्याधुनिक प्रविधिको मेसिन खरिद गरी हस्तान्तरण गरेको उनले जानकारी दिए । ग्रुपका निर्देशक टिकाराम पोख्रेलले यस मेसिनले पहिलाको भन्दा चाँडो नतिजा दिन सक्ने बताए । उनले भने “कोरोना सङ्क्रमण वढ्दै जाँदा ।नतिजालाई विश्वसनीय र छिटो गर्नका लागि मेसिन सहयोग गरेका हौ ।”
भरतपुर महानगर प्रमुख दाहालले सरकारी तवरबाट खरिद प्रकृया ढिला हुने भएकाले निजी क्षेत्रको सहयोग अहिलेको अवस्थामा अतुलनीय रहेको बताए । अहिलेसम्म महानगरवासीको सहयोगले कोरोना नियन्त्रण सहज भएको बताउँदै उहाँले महामारीको समयमा सबैको सहयोग आवश्यक रहेको बताए । अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले नतिजा चाँडो निकाल्नका लागि नमूना घान हाल्ने अर्थात आरएनए एक्सट्याक्टर मेसिन मन्त्रालयसँग माग गरिएको जानकारी बताए।
अहिले यहाँ भएको पिसिआर मेसिनले एक पटकमा ९६ वटा नमूनामात्र परिक्षण गर्न सकीने भएकाले घान हाल्ने मेसिन आएसँगै दैनिक एक हजार नमूना परिक्षण गर्न सकिने उहाँले बताउनुभयो । यो मेसिन आए सँगै दैनिक ५ सय नमूना पहिले भन्दा छिटो परीक्षण गर्न सकिने भएको छ ।
प्रयोगशाला प्रमुख अधिकारीका अनुसार प्रयोगशालाको स्थापनापछि आज सम्म २३ हजार भन्दा बढी नमूना परिक्षण गरिएको छ । जसमध्ये चितवनका १८ हजार रहेको उनले जानकारी दिए । परिक्षण गरिएकोमा १ हजार २ सय संङ्क्रमण पुष्टि भएको छ । ती मध्ये १ हजार ८५ चितवनका छन् । हाल प्रयोगशालामा सञ्चालनमा रहेको पिसिआर मेसिन कृषि तथा वन विज्ञान विश्वविद्यालयको हो । नयाँ मेसिन पाएसँगै अस्पतालले विश्वविद्यालयलाई उपकरण फिर्ता गर्न पाउने भएको छ । रासस

























