बैतडीको सिगास गाउँपालिकामा स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । सिगास गाउँपालिका वडा नं ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नं ५ ढुंगाडमा स्वाब संकलनका लागि हिडेका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार हातपात भएको हो ।



भूमीराज आधारभूत विद्यालयमा वन सम्बन्धि बैठक चलिरहेको आफूले सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘विद्यालयमा बैठक चलिरहेको थियो । ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेका थिए । मैले यस्तो बेला भीडभाड नगर्नुस भनेर सम्झाउँदा म माथि हातपात भयो ।’
सिगास गाउँपालिका वडा नं ५ मा आज स्वाब संकलन गर्ने हिसाबले हिडेका स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब संकलन कार्य समेत रोकिएको ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी गरेका थियौं । तर स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमाथि हातपात भएपछि समस्या भएको छ ।’
स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट रहेको बताइएको छ । स्थानीयले आफूमाथि हातपात गरेपछि आज बिहान आफूले गाँजरी प्रहरीचौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी भुपेन्द्र बोहराले बताउनुभयो । उहाँले भन्नुभयो ‘यसरी मलाई काम गर्न निकै असहज भएको छ । अहिले निवेदन दिनका लागि प्रहरीचौकीमा आएको छु । यसपछि के हुन्छ । त्यसपछि मात्रै कार्यक्षेत्रमा फर्किन्छु ।’
बैतडीमा जिल्लाका प्रत्येक स्थानीय तहमा समुदायमा कोरोना परीक्षण गर्ने हिसाबले संक्रमिततका आफन्तहरुको स्वाब संकलन गर्ने कार्य भईरहेको छ । अहिले सम्म ३७५ जनामा कोरोना पुष्टि भएको छ भने ३६२ जना डिस्चार्ज भईसकेका छन् । जिल्लामा १३ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

























