कञ्चनपुर (शुक्लफाटा) – कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं ९ को कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा वडाबाट सञ्चालन हुने योजनाको विवरण सार्वजनिक गरेको छ ।
वडा कार्यालयले पाँचवटा शिर्षकमा कुल ५० लाख १८ हजार ६ सय १० रुपैयाँ बराबरको वार्षिक योजना विवरण सार्वजनिक गरेको हो ।
वडाध्यक्ष रमेश बहादुर ऐरले चालु आर्थिक वर्षका लागि स्थानीय सरकार सञ्चालन ऐन अनुरुप आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकास शिर्षकमा रकम छुट्याइएको बताए ।
यस्तै उनले छाडा पशु चौपाया व्यवस्थापनका लागि अनुमानित ४० लाख रुपैयाँ खर्च हुने देखिएकोले सो को स्वीकृतिको लागि शुक्लाफाँटा नगरपालिकासित माग गरिएको बताए । जसमा सात जनालाई रोजगारी दिइने उल्लेख छ । वडा कार्यालयले स्वरोजगारका विभिन्न कार्यक्रमहरुलाई
समेटेको बताउँदै अध्यक्ष ऐरले भने “प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाका मूल सडक तथा शाखा सडक मर्मत सुधार गर्न, छाडा पशु चौपाया व्यवस्थापन स्थलमा भौतिक पूर्वाधार निर्माण, नयाँ ट्र्याक खोल्न र विद्यालय तथा अन्य सामुदायिक स्थलको सरसफाई कार्यमा सहभागी गरिनेछ ।



स्थानीय युवाहरुलाई लक्षित गर्दै खेलमैदान निर्माण र खेलकुद कार्यक्रम समेत समेटिएको छ ।

























