काठमाडौँ। महवीर पुनलाई एक सुकी सहयोग नगरेको सरकारले पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका बरिष्ठ नेता झलनाथ खनालको नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’लाई १ अर्ब ३२ करोड रुपैया अनुदान दिने भएको छ। आइफा अवार्ड संचालन गर्न करोडौं रकम विनियोजन गर्न सक्ने, आफ्ना नेताको नाममा खुलेका प्रतिष्ठानलाई अर्बौ दिने सरकारले आविष्कार केन्द्रलाई किन हेल्ला गरेको हो कुन्नी?



सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्नका लागि भन्दै नेपाल सरकारले खनालका नाममा स्थापना गरिएको प्रतिष्ठानलाई उक्त रकम दिन लागेको हो।
सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासँग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले जानकारी दिए । सरकारले ७२ करोड रुपैयाँ पहिलो किस्तामा प्रतिष्ठानलाई दिने छ भने बाँकी दोस्रो किस्तामा दिने छ ।
सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको अध्यक्ष पन्तले जानकारी दिए । अब असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का लागिसक्ने उनले बताए ।
विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा हरेक वर्ष मानिसहरुको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ । अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको छ ।
राजनीति र व्यापारलाई एक साथ अगाडि बढाएका खनालले आफ्नो श्रीमती र छोरालाई व्यापारमा पूर्ण रुपमा देखाउने गरेका छन्। स्रोतका अनुसार खनाल चीन सँग एकदमै निकट छन् र आफ्ना छोरामार्फत चिनिया लगानी नेपाल भित्राउने गरेका छन्। २०६६ सालमा हेटौडामा सल्लोबाट क्यान्सरको औषधि उत्पादन गर्ने कम्पनी किशोरी महतोसंग किनेका थिए । बैंक लोनबाट किनेको उक्त कम्पनी अगाडि बढ्न नसकेपछि साडुभाइ सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका बेला बैंकको उक्त ऋण मिलाएका थिए ।
प्रतिष्ठानका नाममा अनुदान दिए पनि झलनाथको प्रभावका कारण सरकारले यति ठूलो रकम दिने निर्णय गरेको हो। नेकपा भित्र नेतृत्व कलह उत्कर्षमा पुगेर एकाएक शान्त हुनु र यहि बेलामा खनालका नाममा खुलेको प्रष्ठिानलाई यति ठूलो रकम अनुदान दिनुलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ।
आविष्कार केन्द्रलाई सरकारको असहयोग
सरकारले आविष्कार केन्द्रलाई अझै सम्म एक रुपैया पनि सहयोग गरेको छैन्। सरकारी सहयोग बिना नै आविष्कार तथा अनुसन्धानमा लागि परेका छन् महाविर पुन अहिले। पुनको आविष्कार केन्द्रले कोरोना संक्रमणको सुरुवाती दिनमा देशमा पिपिईको हाहाकार परेको बेला उनले नै केहिँ थान पिपिई बनाएर सरकारलाई दिएको थियो।
सुरुवाती दिनमा विकास अभियान्ता पुन आविष्कार केन्द्र राज्यले नै सञ्चालन गरोस् र त्यसमा आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता बारम्बार व्यक्त गरिरहे । त्यसका लागि राज्यले मुलुकको कूल ग्राहस्र्थ उत्पादनको कम्तिमा एक प्रतिशत बजेट विनियोजन गरोस् भन्ने लबिङमा पनि वर्षौ खर्चिए उनले।
सरकारी कामकाज गर्ने जुन नीति नियम छन्, त्यसै अन्तरगत आविष्कार कन्द्र चलाएर खोज, अनुसन्धान र आविष्कारको काम हुन सक्तैन भन्नेमा उनी सुरुदेखि नै स्पष्ट थिए । त्यसैले आविष्कार केन्द्र सञ्चालनका लागि छुट्टै किसिमको नीति नियम बनाउनुपर्छ भनिरहे।
जति कोशिस गर्दा पनि सरकार आविष्कार केन्द्रको आवश्यकता र महत्व बुझ्न तयार नदेखिए पछि पुनले आफ्नो एक्लो अग्रसरतामै भए पनि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनमा ल्याएर छाडे। आफ्नो व्यक्तिगत अग्रसरतामा आविष्कार केन्द्र स्थापना गरेको भए पनि यो काम र संस्था सरकारको नै सम्पती भएको बताउदै आएका छन्। किन भने यो आविष्कार केन्द्र निजी सम्पत्ती होइन । यो सार्वजनिक सम्पत्ति हो, त्यसैले यो सरकारकै हो,’ उनी भन्छन्।
हुन त सुरुवाती चरणमा १० मेगावाट जलविद्युत परियोजना तयार पारेर त्यसैको आम्दानी मार्फत आविष्कार केन्द्र सञ्चालन गर्ने योजना पनि बनेको थियो । तर, त्यसका लागि आवश्यक लगानी जुट्न नसक्दा अहिलेसम्म कार्यान्वयनमा भने जान सकेको छैन । यद्यपी, आगामी दिनमा श्रोत जुटेको अवस्थामा त्यो योजना समेत अगाडि बढाउन सकिने पुनको आश छ ।
अहिले आविष्कार केन्द्र केवल व्यक्तिगत रुपमा आउने सहयोगबाट सञ्चालन भइरहेको छ । यसरी आउने सहयोग मध्ये ९० प्रतिशत निम्न वर्गका व्यक्तिहरुबाट आउने गरेको छ । बाँकी ८/९ प्रतिशत मध्यम वर्गबाट र बाँकी नगन्य मात्राको सहयोग मात्रै उच्च वर्गले गरेको छ । नबुझेर भन्दा पनि विश्वास गर्न नसकेका कारण राज्य र समाजको उपल्लो तहका व्यक्तिहरुको सहयोग जुट्न नसकेको बुझाई पुनको छ ।
जीवित छदै नेताको नाममा प्रतिष्ठान
तत्कालीन एमालेमा मृत्यु भइसकेका नेताका नाममा प्रतिष्ठान बन्ने होडबाजी चलिरहदा खनालले चाहिँ आफू जिउँदै हुँदाखेरि आफ्नै नाममा प्रतिष्ठान बनाएर सर्पदंश उपचारको प्रोजेक्ट अघि बढाएका छन्।
नेपालमा सर्प पालन गर्ने र ‘एन्डी स्नेक भेनम’ बनाउने मुख्य उद्देश्य राखी २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’को जन्म भएको हो। नेपालमा यसरी जिवितै आफ्नो नामबाट प्रतिष्ठान खोल्ने चलन छैन्। समाजले यसलाई राम्रो संग लिदैन तर खनालले भने विदेशको हवाला दिदै यो संस्था खोलेका हुन्। नेपाली संस्कृति भन्दा विदेशी संस्कृतिलाई जोड दिने कम्युनिष्ट नेतृत्वले यो शैली पनि विदेशबाट नै आयात गरेको छ। खनाल जस्तै नेपालमा शान्ती स्थापनामा काम गरिरहेको अमेरिकी संस्था ‘कार्टर सेन्टर’ अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले जिवित छदै बनाएका थिए।
‘जीवित नेताका नाममा पनि यसरी प्रतिष्ठानहरु बनाउने चलन विदेशमा रहेछ,’ झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष पन्तले भने, ‘खनालले पनि आफू जिउँदै हुँदा संस्थाको जग तयार भएको हेर्न चाहनुभयो र उहाँकै नाममा यो प्रतिष्ठान स्थापना भयो ।’
मदन भण्डारी र पुष्पलालका नाममा एकपछि अर्को संस्था जन्मिएका छन्। र, तत्कालिन एमालेका नेताहरुले यस्ता प्रतिष्ठान बनाएर गुटबन्दी गर्ने गरेका छन्। आफू सरकारमा हुदा प्रतिष्ठानहरुका नाममा पैसा निकासा गर्ने अनि आफ्नो गुट र कार्यकर्ताहरुलाई पाल्ने काम नेताहरु बाट हुदै आएको छ।

























