धनगढी । कुनै बेला यस्तो पनि थियो, भीमबहादुर रावलका चुनावी सभा र र्यालीहरू विथोल्न एकिन्द्र कुँवरलगायतहरू ढुड्डा बोकेर बाटो गौंडा ढुकेका हुन्थे । त्यतिबेला अछामको साफेबगरमा कांग्रेसको दबदवा थियो । एकिन्द्र कुँवरको पुरै परिवार कांग्रेस पार्टीका समर्थक थिए । तर, भीमबहादुर रावलले अहिले अछामका करिब ९० प्रतिसत कुँवरहरूलाई आफ्नो समर्थक बनाइसकेका छन् । नेकपाका लागि यो उपलब्धि नै हो । पछिल्लो समयमा कुँवरहरूको साथ र समर्थन भीमबहादुर रावललाई प्राप्त छ ।



त्यसैले होला रावलले नेकपा सुदूरपश्चिममा एउटै गाउँका ८ जना कुँवरहरूलाई प्रदेश कमिटी सदस्य बनाएका छन् । ती मध्ये धेरै कांग्रेस पृष्ठभूमिका छन् । पछिल्लो समयमा केही रावल र कु्ँवरहरूको मात्र कुरा सुन्न थालेपछि नेकपा सुदूरपश्चिमका इञ्चार्ज समेत रहेका भीमबहादुर रावलबाट अन्य जाति र समुदायका कार्यकर्ताहरू टाढिन थालेको नेकपा अछामका कार्यकर्ताहरू बताउन थालेका छन् ।
नेकपा सुदूरपश्चिमका एकजना नेताले भने–‘भीमबहादुर रावललाई केही रावल र कुँवर थरका कार्यकर्ताहरूले बद्नाम गरिरहेका छन् । यो कुरा उहाँलाई थाहा छ तर जोगिन सकेका छैनन् । ती नेताका भनाईमा कमरेड भीमलाई बढी नै बद्नाम गराउनेमा उनकै पूर्व सचिवालय सदस्य बताउने एकिन्द्र कुँवर हुन् । एकिन्द्र कुँवर अहिले सूदूरपश्चिमको राजधानी धनगढीमा डेरा जमाएर भीमबहादुरका नाममा आर्थिक आतंक मच्चाउदै आएको खबर छ ।
नेकपाका एक नेताले भने राष्ट्रिय तथा अन्तराष्ट्रिय छवि बनाएका भीमबहादुर रावल आर्थिक मामिलामा अरु नेताका तुलनामा कम विवादित छन् । तर, सुदूरपश्चिममा उनका पूर्व सहयोगी एकिन्द्र कुँवरको असुली धन्धा हेर्ने हो भने भीमबहादुर रावलको छवि धुमिल हुँदै गएको कार्यकर्ताहरू गुनासो गर्छन् । धनगढीका हरेक सरकारी निकायमा भीमबहादुर रावलको नाम भजाएर एकिन्द्र कुँवरले असुली धन्धा चलाईरहेको सरकारी कर्मचारीले गुनासो गर्ने गरेका छन् । कतिपय प्रदेश सांसदलाई मन्त्री समेत बनाइदिन्छु भन्दै एकिन्द्र कुँवरले बार्गेनिङ गरिरहेको चर्चा पनि धनगढीमा हुने गरेको छ । सुदूरपश्चिम प्रदेशमा मन्त्री मण्डल फेरबदल हुने चर्चा चलेसंगै सांसदहरूलाई भीमबहादुर रावलको कोटाबाट मन्त्री बनाइदिन्छु भन्दै तत्कालीन एमालेबाट निर्वाचित सांसदहरूसंग छलफल गरिरहेको नेकपा कैलालीका नेता कार्यकर्ताहरूले बताउँछन् ।
२०६६ सालमा भीम बहादुर रावल गृहमन्त्री हुदा एकिन्द्र कुँवरले आफूलाई रावलको स्वकीय सचिव भन्दै विभिन्न मानिसहरूलाई प्रहरीमा जागिर लगाइदिन्छु, सरुवा, बढुवा गरिदिन्छु भन्दै रकम असुलेको आरोप लागेको थियो । त्यसपछि केही बर्षसम्म भीमबहादुर रावलबाट टाढिएका एकिन्द्र कुँवर २०७४ सालको निर्वाचन पछि भीमबहादुर रावलको विश्वास पात्र भई प्रकट भएको बताइन्छ ।
आजकाल रावलको दाहिने हातको भूमिकामा रहेका कुँवरमार्फत नै सुदूरपश्चिममा विभिन्न व्यक्तिहरूको भेटघाट तय हुने गरेको नेकपाका नेता तथा कार्यकर्ताहरू बताउने गर्छन् । सुदूरपश्चिममा कसैले रावलको आलोचना वा विरोध ग¥यो भने कुँवरले रावललाई भए नभएका चुक्ली लगाएर निकट हुने गरेका छन् । धनगढीमा रहेका प्रदेशका मन्त्रालयहरूमा मन्त्री तथा कर्मचारीहरूलाई अनुचित काम गर्न दवाव दिंदै आएको सामाजिक विकास मन्त्रालयका एकजना अधिकारीको भनाई रहेको छ ।
सुदूरपश्चिममा विकास निर्माणका योजनाहरूमा वजेट विनियोजन गर्न नेकपाका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरू समेतले एकिन्द्र कुँवरको चाकडी गर्नुपर्ने गुनासो पनि छ । भीमबहादुर रावलको प्रतिनिधि हुँ भन्दै उनले मन्त्री तथा सरकारी अधिकारीहरूलाई थर्काउने गरेको गुनासो गरिन थालिएको छ । कुँवर धनगढीमा होटल फेरिफेरी बास बस्ने गरेको र खाना पनि धनगढीका महंगा रेन्टुरेन्टमा खाने गरेको बताइन्छ । बिल भने विभिन्न मन्त्रालयका कर्मचारीलाई तिराउने गरेको कर्मचारीको गुनासो प्राप्त हुन आएको छ । होटल र रेस्टुरेन्टको बिल नतिरेमा त्यस्ता कर्मचारीलाई सरुवा गर्ने धम्की कुँवरले दिंदै आएको एकजना पीडित कर्मचारीले गुनासो गरे ।
विकासे योजनामा २० प्रतिशतसम्म कमिसन माग्ने गरेको अरोप पनि कुँवर माथि लाग्दै आएको छ । अछाम जिल्लामा प्रदेश सांसदले भनेको ठाउँमा योजना नजाने तर उनले भनेको ठाउँमा सजिलै पर्ने गरेको गुनासो जनप्रचिनिधिहरूको छ । विभिन्न व्यक्तिलाई नोकरी लगाई दिने, काम दिलाईदिने, भोलि सांसद, मेयर, अध्यक्षको पद दिलाई दिने प्रलोभन बाँड्दै आफूले जे भन्यो त्यही भनेर धाकधम्की दिने गरेकाले सुदूरपश्चिमका नेकपा कार्यकर्ता र मानिसहरू कुँवरबाट आतंकित बन्दै आएको स्रोतको भनाई छ ।
धाकधम्की दिएर नै अहिले एकिन्द्र कुँवरका योजना पास नभएको कुनै पनि मन्त्रालय बाँकी छैन । हरेक नगरपालिका, गाउँपालिका आफूले बिक्रीगर्ने भनेका करोडौंका टेन्ट र ¥याफ्टिङ्गका सामाग्रीहरू भीमबहादुर रावलले भन्नु भा’को छ भन्दै कुँवरले बिक्री गरिरहेको गुनासो पनि छ । स्रोतका अनुसार, प्रदेश गृहमन्त्रालयबाट एकिन्द्र कँुवरले काम पाउने गरी करोडौंका विपत् व्यवस्थापनका सामग्री खरिद हुने तयारी भइरहेको समाचार छ ।
भीम रावलको गृह जिल्ला अछामका एकजना नेकपाका नेता भन्छन ‘हामीजस्तो २५ र ३० वर्ष देखि ईमान्दारीपूर्वक पार्टीको संगठनमा बसेर काम गर्ने कार्यकर्ताको एकरत्ति मूल्याङ्कन छैन । न त हामीले कुनै पद पायौ, न त हाम्रा छोराछोरीले नौकरी नै पाए । गरिबका गरिबै छौं । तर, अछाम जिल्लामा ईतिहासमै कहिल्य कुनै कमिटीमा नबसेको भीमबहादुर रावललाई बिहान बेलुकी भेट्न गएको आधारमा प्रेस चौतारीको केन्द्रीय सदस्य बनाउने, आफूसंगै घुमाउने, उनैको दाजुलाई भिजिट नेपाल २०२० को प्रदेश सदस्य बनाउने, हामीले कुनै काम नपाउने उसैको जेठो दाई कांग्रेसको नेताले काम गर्नेगरी योजना मिलाईदिने कुरा दुःखद हो ।’ कुँवरले आफ्ना दाजुलाई खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त गराउन कोसिस गरिरहेको नेकपा स्रोतको भनाई छ ।
विगतमा भीमबहादुर रावल र नेकपा जिल्ला अध्यक्ष शेरबहादुर कुँवरको चर्को विरोध गर्ने एकिन्द्र कुँवरले गोविन्द कुँवरले साँफेबगर नगरपालिकाको उम्मेदवारीका लागि दावी गर्दा फेसबुकमा नानाथरी अपशब्द लेखेर होच्याएका थिए । पछि शिलोज कुँवरले मेयरको उम्मेदवारी पाउँदा सहकारीको पुरानो सकिएको मुद्दा सञ्चार माध्यममा छाप्न लगाइ बेइज्जत गरी उम्मेदवारी फिर्ता लिनु पर्ने अवस्था सिर्जना गर्ने जस्ता कार्य गरेको साफेबगरका स्थानीय बताउछन् ।
दुई बर्ष अघि अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउद‘भाष्कर’लाई ¥याफ्टिङ वोट किन्न लगाएका थिए । भीमबहादुर रावलको नाम भजाउदै कुँवरले करिब २० लाख रुपैयाँमा वोट बेचेका थिए । गाउँपालिकाबाट निर्णय नगरी नै अध्यक्ष साउद कुँवरबाट वोट किनेका थिए । पछि गाउँपालिकाका अन्य जनप्रतिनिधिले विरोध गरेपछि नाम मात्रको टेन्डर प्रकाशित गरिएको थियो । उक्त टेन्डर अरु नै फर्मले पाए पनि गाउँपालिका अध्यक्ष साउँदले कँवरबाटै वोट किनेका थिए । उक्त वोट साउदले आफ्नो कार्यकक्षको छेउको कोठामा थन्काएर राखेको गाउँपालिकाका एकजना वडा अध्यक्षले बताए ।
एकिन्द्र कुँवरका दाजु रमेश कुँवरको काठमाण्डौको बुढानीलकण्ठ सरस्वती मार्ग ठेगाना रहेको मष्टो आउटडार्स प्रालिले ¥याफ्टिङ वोट बेच्ने गर्छ । रमेश पहिले याफ्टिङ वोटको पंचर टाल्ने काम गर्थे पछि वोट वेच्न थाले । धनगढीमा बसेर एकिन्द्रले दाजु रमेशको याफ्टिङ वोट बेच्ने र कमिसन खाने योजना बनाउदै आएका छन् । उनले विपत् व्यवस्थापनका नाममा सुदूरपश्चिम सरकारको आन्तरिक मामिला मन्त्रालयलाई करोडौं बजेट विनियोजन गर्न लगाई प्रत्येक स्थानीय निकायलाई वोट बेच्ने दाउ पर्खेर बसेको मन्त्रालयका अधिकारीको भनाई छ ।
सुदूरपश्चिममा ८८ स्थानीय निकाय छन । प्रदेश सरकारले प्रत्येक स्थानीय निकायलाई एकथान वोट उपलब्ध गराउदा करिब १७ करोड रुपैयाँ सरकारको याफ्टिङ वोटमा खर्च हुने देखिन्छ ।

























