मलाइ कहाँ जान्छौ भनेर कसैले नसोध ,



म त गुँड नभएको चरा न हुँ
मलाइ कसरी त्यहाँ पुग्छौ भनेर कसैले नसोध ,
म त पखेटा नभएको चरा न हुँ
जहाँ रात पर्छ त्यहीँ बस्छु
जहाँ मेरा पाइलाहरु थाक्छन
हो म त्यही विश्राम लिने गर्छु ।
मलाइ तिमी को हौ भनेर कसैले नसोध ,
म त आफ्नै पहिचान गुमाएको मान्छे हुुँ ,
कयौं चट्यानहरु शीत कयौं
ढुङ्गामुडा हरु शीत ठोक्किदै ठोक्किदै ,
यहाँ सम्म आएको मान्छे हुँ ।
मलाइ मेरो ठेगान पनि कसैले नसोध ,
नदिमा बग्ने पानीको त
ठेगान समुन्द्र हो भन्छन तर,
मेरो कुनै ठेगान छैन ,
मालिक म त मेरै हातका रेखारुले छल गरेको मान्छे हुँ,
आफ्नै आफन्तबाट पनि लुटिएको मान्छे हुँ
अनि त म कसरी भनु कि मेरो गन्तव्य यो हो भनी ।
आमाले भन्नू हुन्थ्यो मलाइ ठूलो मान्छे बन्न्नु ,
बाबाले भन्नु हुन्थ्यो मलाइ नाम कमाउनु ,
मेरो हजुरबाले भन्नू हुन्थ्यो
समाजमा जोरले नहास्नु झर्केर नबोल्नु ,
अघि बढ्नु तर,म यो सहरमा
किन भौतारिदै हिडिरहेछु ,
ए सपनाहरु किन बारम्बार
तिमी मलाइ झस्काइ रहन्छौ ,
तिमीलाई मेरो पिडाको भकारी किन
यति सम्म प्यारो लाग्यो
तिमीलाई मैले सजाउन जानिन कि ,
कि तिमीलाई सजाउन भुल गरे हँ ।
मलाइ अरु के सोध्छौ भन म त ,
उत्तर नै नभएको प्रश्न हुँ ,
केही नसोधिदेउ न हो
मलाइ म त गन्तव्य बिहिन यात्री हुँ
मेरो आफन्त को भनी नसोध म त,
आफन्तले हेपेको मान्छे हुँ ।।
– हरिश चन्द (बब्लु),महेन्द्रनगर

























