डडेल्धुराः दसैँ र तिहारजस्ता ठूला पर्व सकिएसँगै डडेल्धुरा लगायत सुदुरपशिचमाका पहाडी जिल्लाहरूमा जाँत (जात्रा) को रौनक सुरु भएको छ । तिहार सकिए पछि डडेल्धुरामा जाँतहरु सुरु हुन लागेका हुन । डडेल्धुराको उग्रतारा भगवती मन्दिर, भागेश्वर मन्दिर (धुरा), महादेव मन्दिर रुपाल , बडाल जाँत, शिखर जाँत, खोलाई जाँत मुख्य जातको रुपमा लिने गरिन्छ । यस बर्ष उग्रतारा मेला (जेहिजाँत) कार्तिक १९ गते लाग्ने भएकोछ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात ९रतेडी० र दोस्रो दिन ९दिउसेडी० मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।



कार्तिक १८ गते रतेडी र कार्तिक १९ गते बुधवारका दिन दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण ९भण्डार० रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन्।

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए।
परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेको समेत उनको भनाइ छ। भगवती माताको पूजा बिहान चार बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने अध्यक्ष साँकीले बताए।
‘बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ। बिहान चारवटै गाउँको भ्रणबाट ल्याइएको माताभगवतीको देउरो बेलुका पुनः चारवटै गाउँको भम्रणमा लगिमेला सम्पन्न हुन्छ,’ उनले भने।
देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।
किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ। वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने पनि जनविश्वास रहेको छ।
खोले जाँतः यस बर्षको खोले जाँत २२ गते लाग्ने भएकोछ । अजयमेरु गाउँपालिका–३ र ४ चिपुरमा पर्ने प्रसिद्ध जगन्नाथ मेला (खोले जाँत) कात्तिक २१ गते रतेडी र २२ गते दिसेडी परेको छ । जगन्नाथ युवा क्लबका अध्यक्ष तारादत्त भट्टका अनुसार २१ गते राति ‘रतेडी’ र २२ गते दिउँसो ‘दिउसेडी’ मेला लाग्ने भएको हो।
मेलामा गुनपाल, चौडी, चिपुर र मड गाउँका भक्तजनहरूले देउरो बोकेर जगन्नाथ मन्दिरमा पुग्ने परम्परा रहेको छ।
पूजाआजापछि ‘तिलाख’ ग्रहण गर्न बिहानैदेखि भक्तजनहरूको भीड लाग्ने गर्छ। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट श्रद्धालुहरू सहभागी हुने भएकाले यो मेला धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।
भागेश्वर (धुरा) जाँत १८ गते लाग्ने भएकोछ । यस्तै बडाल जाँत १५ गते हुने भएकोछ । डडेल्धुरामा लाग्ने जाँतहरु लाई स्थानीयहरुको आफन्तजनहरुको भेटगाट गर्ने थलोका रुपमा पनि लिने गरिन्छ । जाँतमा स्थानीय वस्तुहरुको किनमेल गर्ने गरिन्छ ।


























