२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

राजकुमारको मृत्यु भएको महिना बित्यो, कारबाही भएन

मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने प्रतिबद्धता भए पनि उनीहरूले किरिया खर्चबापतको एक लाख रुपैयाँबाहेक अरू पाएका छैनन् । ‘पोस्टमार्टम रिपोर्ट भर्खर आएको छ । त्यसको पूरकका रूपमा अरू परीक्षण प्रतिवेदन आएको छैन । रगत र भिसेरा परीक्षण प्रतिवेदन आएपछि एउटा निचोडमा पुग्ने तयारीमा छौं,’ चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले भने । विष्णुलालले जिल्ला प्रहरी कार्यालयमा साउन ९ मा उजुरी दर्ता गराएका थिए । मृतक राजकुमारको पोस्टमार्टम काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा साउन १२ मा भएको थियो । भिसेरा परीक्षण प्रतिवेदन आएसँगै थप कारबाही प्रक्रिया अगाडि बढ्ने एसपी गुरुङले बताए ।

राजकुमारसहित मिलन टोलका पाँच युवा र दुई महिला साउन १ मा राप्ती नदी पार गरेर जंगलमा अमिलो खोज्ने, खोलामा माछा मार्ने र घोंगी टिप्ने योजना बनाएर निकुञ्जभित्र छिरेका थिए । ज्युडी खोलामा घोंगी टिप्दै गर्दा सेनाले उनीहरूलाई पक्राउ गरेको थियो । सो क्रममा पाँचै जना युवकमाथि कुटपिट भएको थियो । त्यसको साता दिनपछि साउन ८ मा राजकुमारको मृत्यु भएको थियो । कुटपिटमा संलग्नलाई कारबाही प्रक्रिया सुरु नगरेको र राहतको विषयमा चित्तबुझ्दो प्रतिबद्धता नआएको भनेर परिवारले शव बुझ्न इन्कार गर्दै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा १० लाख रुपैयाँ राहत दिने र कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता आएसँगै परिवारले शव बुझेर साउन १८ मा सद्गत गरेको थियो । ‘राहत दिने भनेका छन् । त्यसका लागि बैंकमा खाता खोल्नुपर्दो रहेछ । छोरोको किरिया सकेपछि म खाता खोल्न कागजपत्र मिलाउनतिर लागें । उजुरीको बारेमा के भएको छ बुझ्न पाएको छैन,’ विष्णुलालले भने ।

मृतक राजकुमारकी श्रीमती रिपुमायाकै नागरिकता बनेको रहेनछ । नागरिकता नबनेपछि बिहे दर्ता गर्ने कुरै भएन । डेढ वर्षीया छोरी एलिनाको जन्म दर्ता पनि भएको थिएन । ‘छोराको मृत्यु दर्ता, बुहारीको नागरिकता बनाएर बिहे दर्ता र नातिनीको जन्म दर्ता गरेर बैंकमा बल्ल खाता खोलेको छु । राहत खातामा हाल्दिने भनेका छन्,’ विष्णुलालले भने, ‘यो काम सकेपछि उजुरी के भयो त्यो पनि हेर्नु छ । न्याय त पाउनै पर्छ ।’

उजुरीमाथि छानबिन गरेर न्याय दिन तदारुकता देखाउनुपर्ने र परिवारलाई उचित राहत दिनुपर्ने माग राखेर नेपाल चेपाङ संघले आन्दोलनसमेत गरेको थियो । ‘दिनका दिन बैठक र छलफलपछि सहमति भएको हो । १० लाख दिन्छौं, पिट्नेलाई कारबाही पनि हुन्छ भनेका हुन् । पत्याउनै पर्‍यो । त्यही पत्याएर हामीले आन्दोलन पनि रोकेका हौं,’ संघका जिल्ला सदस्य तथा राप्ती–२ वडा इकाइ अध्यक्ष सन्त चेपाङले भने ।

मृतकका परिवारलाई निकुञ्जले ७ लाख र राप्ती नगरपालिकाले ३ लाख गरी १० लाख रुपैयाँ दिने सहमति भएको थियो । निकुञ्जले लोथर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमार्फत किरिया खर्च भनेर १ लाख रुपैयाँ दिनुबाहेक परिवारले अरू पैसा अझै पाएको छैन । राप्ती नगर प्रमुख प्रभा बरालले नगरपालिकाले ३ लाख रुपैयाँ छिट्टै दिने बताइन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले परिवारलाई राहतको बाँकी रकम उपलब्ध गराउने तयारी भइरहेको बताए । तर कुटपिटमा संलग्नलाई कारबाही गर्नेबारे आफ्नो जानकारीमा नरहेको उनको भनाइ छ । कुटपिट प्रकरणपछि निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत नारायण रूखाखेतीको सरुवा भएपछि बराल चितवन आएका हुन् ।

निकुञ्जको सुरक्षाका लागि बटुक दल गणका सेनाहरू तैनाथ छन् । गणपति अरुण श्रेष्ठ यो विषयमा आफू केही नबोल्ने बताउँछन् । ‘यो विषयमा म बोल्न मिल्दैन । हजुरलाई सूचना आवश्यक भएको हो भने माथि नै सम्पर्क गर्न सक्नुहुनेछ,’ गणपति श्रेष्ठले भने ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।