– आज कोजाग्रत पूर्णिमा
बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।



आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा व्रत आज परेकाले साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ। शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ। अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ।
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
जेनजी आन्दोलनबाट सत्ता गुमाएका केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान सुरु भएको छ। ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई ‘हत्यारा’ को रूपमा चित्रित गर्दै पक्राउको माग गरिएको छ। सुदन गुरुङले पनि सामाजिक सञ्जालमा उक्त पोस्टर पोस्ट गर्दै ओली र लेखकलाई पक्राउ गर्न माग गरेका छन्।
काठमाडौँ । जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको हो ।

सार्वजनिक एक पोस्टरमा ओली र तत्कालीन गृहमन्त्री लेखकको फोटो राखिएको छ । जसमा उनीहरुलाई ‘हत्यारा’को रूपमा चित्रित गर्दै ‘हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौँ’ भनिएको छ ।
यसैगरी हामी नेपाल अभियानका संयोजक सुदन गुरुङले समेत सामाजिक सञ्जालमा उक्त पोस्टर पोस्ट गर्दै ओली र लेखकलाई पक्राउ गर्न माग गरेका छन् ।
उनीहरूलाई पक्राउ गर्न दबाब दिन ट्रेन्ड चलाउन उनले आह्वान गरेका छन् । जेनजी आन्दोलन दबाउन जिम्मेवार रहेको दाबी गर्दै यसअघि नै ओलीलगायतलाई राजधानीबाहिर जान समेत रोक लगाइसकिएको छ ।
– चुनौती बढ्नसक्छ, चुनाव एकै चरणमा गर्नुपर्छ’
निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई देशभर एकै चरणमा सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । निर्वाचनको तयारी र त्यसका चुनौतीबारे आन्तरिक रुपमा अध्ययन गरेको आयोगले दुई चरणमा निर्वाचन गर्नुपर्ने अवस्था भए कयौं जटिलताहरु थपिने भन्दै एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने निष्कर्ष सहितको ब्रिफिङ नोट तयार गरेको हो ।
आयोग स्रोतका अनुसार, १३ बुँदामा तयार पारिएको ब्रिफिङ नोटमा दुई चरणमा निर्वाचन गर्दा कयौं जटिलता र समस्या आउने भन्दै एकै चरणमा नै निर्वाचन गर्नुपर्ने सुझाव पेश भएको हो ।
आयोग सचिवालय स्रोतले भन्यो, ‘विगतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समेत एकै चरणमा सम्पन्न भएको थियो । योपटक प्रतिनिधिसभा मात्रै भएकाले एकै चरणमा नै निर्वाचन गर्नुपर्ने र अरु अलमलमा लाग्न नहुने सुझाव आएको हो ।’
दुई चरणका जटिलता के के हुन् ?
आयोगले तयार पारेको ब्रिफिङ अनुसार, निर्धारित समयमा निर्वाचन हुनेमै शंका बढ्नसक्ने भएकाले दुई चरणको छलफल र बहस नै अघि बढाउन हुँदैन भन्ने उक्त नोटमा उल्लेख छ । दुई चरणमा निर्वाचन गर्दा मतदान हुने ठाँउमा अन्य क्षेत्रका मतदाता आई बुथ क्याप्चर गर्ने र सुरक्षा चुनौती बढ्ने जोखिम हुनसक्छ ।
फरक–फरक निर्वाचन तालिकाका कारण कुनै ठाँउमा प्रचार प्रसारमा कम अवधि र कुनैमा बढी अवधि पाएर मतदातामा असमान व्यवहार हुने भएकाले एकै चरणको सुझाव आएको हो । निर्वाचनका कर्मचारीहरुलाई दुई पटकको तालिमको झन्झट हुने, अलग(अलग निर्वाचन प्रचार प्रसारको समय हुँदा दलहरुको निर्वाचन खर्च बढ्नसक्ने भनी विश्लेषण भएको छ ।
‘दुवै चरणको मतदान सकिएपछि मात्रै मतगणना हुने भएकाले निर्वाचनको अन्तिम परिणाममा ढिलाई हुने र त्यसमा कतिपयले शंका गर्ने ठाँउ रहने भयो, विगतमा पनि यस्तो बेलामा विश्वसनीयताको प्रश्न थियो’ ब्रिफिङ नोट उदृत गर्दै आयोग स्रोतले भन्यो, ‘पहिलो निर्वाचनपछि कतिपय अवस्थाले दोस्रो चरणको निर्वाचनमा प्रतिकूल प्रभाव पर्ने भएकाले एकै चरणको निर्वाचनको सुझाव पेश भएको हो ।’

निर्वाचन सम्बन्धी उजुरी र कानुनी कारबाही तथा म्याद र हदम्यादको समस्या हुने, पहिलो चरणको निर्वाचनपछि दोस्रोमा सामाजिक सञ्जालको चरम दुरुपयोग हुनसक्ने अनि पहिलो चरणको मतपेटिका सुरक्षामा गम्भीर चुनौती आउनसक्ने भनी विश्लेषण भएको हो ।
आयोगसम्बद्ध स्रोतले भन्यो, ‘आयोग एकै चरणमा निर्वाचन गराउन तयार छ, तर पनि त्यसका विभिन्न पक्षहरु केलाएर छलफल गर्ने क्रममा दुई चरणका बेफाइदाबारे ब्रिफिङ नोट तयार भएको हो । आयोगका पदाधिकारीहरुको बैठकमा पनि यसवारेमा छलफल र समीक्षा हुनेछ ।’
दुई चरणमा निर्वाचन गर्दा सुरक्षा चुनौती थपिने र निर्वाचन खर्चमा वृद्धि, सामाजिक चुनौती बढ्ने, तह(तहको समन्वयमा थप जटिलता आउनसक्ने अनि निर्वाचन व्यवस्थापन र पर्यवेक्षणमा समस्या हुने र खर्च पनि बढ्नसक्ने भन्दै ब्रिफिङ नोटमा एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने सुझाव छ ।
दार्चुला जीप दुर्घटनाः पाँच जनाको माया मेट्रो अस्पतालमा उपचार जारी
दार्चुलामा आइतवार भएको जीप दुर्घटनामा घाइते भएका पाँचजनाको अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको अस्पतालका जनसम्पर्क व्यवस्थापक जगत महताले जानकारी दिए।
महाकाली नगरपालिका–९ गजुराडीमा भएको उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। घाइतेमध्ये वर्ष १४ का त्रिभुवन बहादुर पाल, वर्ष २७ का लोकेन्द्र धामी, वर्ष २५ का शुभम पाल, वर्ष २७ का जयबहादुर पाल र वर्ष २८ का पंकज पालको धनगढीको मायामेट्रो उपचार भइरहेको छ। अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको बताइएको छ। अन्य घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ।

उक्त जीप बागमती प्रदेश ०३००१ ज ०२०६० आइतवार दिउँसो सकारबाट वडा नम्बर ६ निसिलतर्फ जाँदै गर्दा गजुराडी भन्ने स्थानमा सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो। दुर्घटनामा महाकाली नगरपालिका–९ का २८ वर्षीय नरेशबहादुर पालको मृत्यु भएको थियो।

























