डडेल्धुराः नेपालमा जेनजी पुस्ताले गरेको आन्दोलनको बारेमा लेख्दै समाजसेवी विनय प्रकास मल्ल सामाजिक संञ्जाल मार्फत नवनिर्वाचित प्रधानमन्त्रि सुशीला कार्कि लाई बधाई दिदै लेख्छनः
आदरणीय अन्तरिम प्रधानमन्त्री सुशीला कार्की ज्यू ।
समस्या उमेरमा होइन, सोचमा हो ।
आज तपाईंको काँधमा घाइते घरको भारी आएको छ । त्यो घर केवल ईटा, ढुंगो र छानाले बनेको होइनः त्यो हजारौं आमाबाबुको आक्रोश, युवापुस्ताको रगत, र भविष्यप्रतिको सपना हो। म तपाईंलाई “बधाई” भन्न चाहन्नँ, किनभने देश अहिले उत्सवमा छैन — देश पीडामा छ।
प्रधानमन्त्री ज्यू, अहिले तपाईंको काँधमा केवल सरकार सम्हाल्ने होइन, एउटा पुस्ताको घाउलाई मल्हम लगाउने जिम्मेवारी छ। जेन्जी आन्दोलनका समयमा आफ्ना सपना बोकेर सडकमा उभिएका युवाहरू गोलीको निसाना बने। उनीहरूले आफ्नो प्राण दिए, ताकि यो मुलुक फेरि ब्यूँझोस्। ती आँखाहरु अझै पनि हामीलाई हेरिरहेका छन्, ती अधुरा स्वर अझै पनि गुञ्जिरहेका छन् — “जेन्जी पुस्ताको बलिदान खेर नजाओस्।”
देशले तपाईँलाई आमा बनाएर अगाडि पठाएको छ। आमा जसरी संकटमा आँखा खोल्छिन्, आँसु पुछ्छिन्, परिवारलाई सम्हाल्छिन् — त्यही साहस अहिले तपाईंमा चाहिन्छ। तपाईंको जिम्मेवारी केवल प्रधानमन्त्रीको पद धान्नु होइनस तपाईं नयाँ पुस्ताको नेतृत्व जन्माउने आमा बन्नु हो १ व्यवस्था सुधारेर, नियमलाई कडाइका साथ कार्यान्वयन गरेर, र जनतालाई आशा दिलाएर नयाँ विश्वासको जग बसाल्नु हो।
इतिहास साँची छ — जापान दोस्रो विश्वयुद्धपछि खरानी भयो। तर त्यही खरानीबाट पुनः जन्मिएर आज विश्वका बलिया राष्ट्रहरूमध्ये उभिएको छ। नेपाल पनि इमानदारी, पारदर्शिता, र दृढ निष्ठाले उठ्न सक्छ। तर यसका लागि पुरानो सोच, पुराना स्वार्थ, र पुरानो ढर्रा त्याग्नुपर्छ। समस्या उमेरमा होइन, सोचमा हो। उमेरले देश डुबाउँदैन, विकृत सोचले देश डुबाउँछ।
प्रधानमन्त्रीज्यू, कृपया, हरेक निर्णय गर्नु अघि ती अनुहार सम्झनु होला — जेन्जी आन्दोलनमा ढलेका युवाहरुका अनुहार। ती रक्ताम्य सडक सम्झनु होला । जसले राष्ट्रलाई झकझक्याएर जगायो।
आज मुलुकले तपाईंलाई केवल “प्रधानमन्त्री” होइन, जेन्जी पुस्ताको रगतलाई न्याय दिने आशाको रूपमा हेरिरहेको छ। तपाईंले गर्ने काम भनेको केवल सरकार संचालन मात्र होइनस असल सोच, पारदर्शिता र न्यायको संस्कार स्थापित गर्नु हो। यदि तपाईं सफल हुनुभयो भने भविष्यमा हामी भन्न सक्नेछौं — जब देश घाइते थियो, जब नयाँ पुस्ताको रगत सडकमा बगेको थियो, जब सबैले हार मानेका थिए — त्यही बेलामा एक जना नेपाल आमाकी साहसी छोरीले राष्ट्रलाई उठाइन्।
प्रधानमन्त्रीज्यू, देशको आँखा तपाईंमा छ — आशा, न्याय र भविष्यका प्रतीकका रूपमा । त्यसैले तपाईंले भरपुर्ण विवेक प्रयोग गरेर काम गर्नुहुने छ र परिवर्तन ल्याउनुहुनेछ भन्ने आसा गरेको छु भन्दै बीदा हुन्छु हस ,धन्यबाद ।



देशप्रेमी ,युवा समाजसेवी बिनय प्रकाश मल्ल
हाल टोकियो ,जापान

























