धनगढी : कैलाली र कञ्चनपुरका थप ३६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ४४ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १९ र कञ्चनपुरका १७ जनामा संक्रमण पुष्टि भएको हो।



सबैभन्दा बढि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० जना, महाकाली नगरपालिकाका चार जना, पुनरवास नगरपालिकाका दुई र बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनका अनुसार कैलालीको गौरीगंगा नगरपालिकाका ६, बर्दगोरीका पाँच, चुरे गाउँपालिकाका चार, धनगढी उप–महानगरपालिकका दुई, घोडाघोडी नगरपालिकाका एक जना र स्थानीय तह नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ।
उता डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप नौँ जनामा कोरोना पुष्टि भएको छ। प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय २८ जनाको परीक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो।
आज थपिएका सबै डोटीको सायल गाउँपालिकाका रहेका छन्। प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले सायल गाउँपालिकाका ६ पुरुष र ३ महिलामा गरी ९ जनामा कोरोना पुष्टि भएको बताए।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार सात सय ३९ पुगेको छ। संक्रमण पुष्टि भएका चार हजार सात सय ९१ ज्नाले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ।

























