२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

डडेल्धुरामा घरेलु हिंसामा बृद्धि, एक बर्षमा दर्ता भए ४२ उजुरी

डडेल्धुराः सात पालिका रहेको डडेल्धुरा जिल्लामा आ.व २०८१।८२ मा घरेलु हिंसाका ४२ उजुरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा आर्थिक वर्ष २०८१÷८२ मा १ सय ९० ओटा मुद्दा दर्ता भएका छन, जुन संख्या गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढी हो । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० मा ९९ मुद्दा दर्ता भएका थिए भने त्यसको अर्को वर्ष ०८०÷८१ मा १२० वटा मात्र मुद्दा थिए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार दर्ता भएका १९० मुद्दामध्ये १११ वटा मुद्दा फछ्र्यौट भइसकेका छन भने बाँकी ७९ वटा अझै अनुसन्धान, मुद्दा दर्ता र अदालती प्रक्रियामा छन । उहाँका अनुसार आत्महत्या र भवितव्यज्यान लगायतका मुद्धामा २ वर्ष कुर्नुपर्ने कानुनी प्रकृया हुन्छ । दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी घरेलुहिंसा, बैंकिङ कसुर, अभद्र व्यवहार, लागुऔषध कारोबार, आत्महत्या, जबर्जस्ती करणी र बाल यौनदुरुपयोग जस्ता मुद्दा देखिन्छन ।

प्रहरीमा एक वर्षको अवधिमा घरेलुहिंसाका ४२ उजुरी आएकोमा ३३ उजुरी प्रहरीमा फच्र्यौट भएका छन, अन्यलाई अदालती प्रकृयामा लगिएको थियो । महिला हिंसाका १४ वटा उजुरी परेकोमा सबैको मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।

बैंकिङ कसुरका ३२ वटा मुद्दा दर्ता भएका छन । तीमध्ये २० वटा फछ्र्यौट भइसकेका छन भने बाँकी १२ मुद्दा विचाराधीन छन । प्रहरीका अनुसार चेक बाउन्स, ऋण असुलीका केसहरू बैंकिङ कसुरमा पर्छन । त्यस्तै, अभद्र व्यवहारसम्बन्धी २७ वटा मुद्दा दर्ता भएका छन । तीमध्ये २५ मुद्दा फछ्र्यौट भइसकेका छन भने दुई मुद्दा बाँकी छन । सामान्य झगडा, गालीगलौज, हातपात र सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गर्ने व्यक्तिहरूविरुद्ध यस्ता मुद्दा दर्ता गरिन्छन ।

लागुऔषधका ११ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन र ती सबै मुद्दा फछ्र्यौट भइसकेको प्रहरी निरीक्षक विष्टको भनाइ छ । प्रहरी तथ्यांकमा देखिएअनुसार गत वर्ष मात्रै डडेल्धुरामा झुण्डिएर आत्महत्या गरेका २६ घटना दर्ता भएका छन । सामाजिक, मानसिक, आर्थिक र पारिवारिक कारण आत्महत्याको कारक हुने गरेको प्रहरीको अनुसन्धानले देखाउने गरेको छ । यस्तै, आत्महत्यामा दुरुत्साहन सम्बन्धी ४ वटा मुद्दा दर्ता भएका छन । मनोपरामर्श र मानसिक स्वास्थ्य सेवा नपुग्दा धेरै मानिस समस्यालाई मौनतामा गुमाउने र अन्ततः आत्मघाती कदम चाल्ने अवस्था पछिल्लो समय बढ्दो छ ।

यौनजन्य हिंसाका घटनामा पनि वृद्धि भएको देखिन्छ । जबरजस्ती करणीका ८ मुद्दा दर्ता भएका छन । तीमध्ये ७ वटा मुद्दा फछ्र्यौट भइसकेका छन भने १ मुद्दा अदालतको प्रक्रियामा रहेको छ । बाल यौनदुरुपयोगका ४ वटा मुद्दा गत वर्ष दर्ता भएका छन । प्रहरीका अनुसार जिल्लाको भित्रीमधेश क्षेत्र आलिताल र परशुराम तथा सदरमुकामको बजारक्षेत्र अमरगढीमा बढी अपराधिक कृयाकलाप हुने गरेकाछन । प्रहरीले पछिल्ला वर्षमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताएको छ । प्रहरी विद्यालयमा पुग्ने, टोल र समूहमा छलफल आयोजना गर्ने, महिला समूहसँग सहकार्य गर्ने, स्थानियतहसँग समन्वय गरेर सुरक्षामूलक प्रशिक्षण सञ्चालनजस्ता कार्यक्रम गरिएको प्रहरीको दाबी छ । तर, व्यवहारमा भने यी कार्यक्रमको प्रभावकारिता निकै सीमित देखिएको छ ।

जिल्लामा मानसिक स्वास्थ्य समस्या, बेरोजगारी, आपसी वैमनस्य, गरिबी र आधुनिक प्रविधिको गलत प्रयोग अपराध बढ्ने कारण बनेका छन । स्थानीय तहमा सञ्चालित शिक्षा, स्वास्थ्य र सामाजिक कार्यक्रमहरूमा अपराध विरोधी अभिमुखिकरण अनिवार्य गरिनु आवश्यक देखिन्छ । मानसिक स्वास्थ्य, साइबर अपराध र यौनजन्य हिंसाका विषयमा विद्यालय स्तरमै पाठ्यक्रम समावेश गर्नुपर्ने सरोकारवालाको भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।