धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि बिहीबार दिउँसो कुटपिट भएको हो। नगर प्रमुख देविदत्त कडेलका सहयोगी उमेश जोशीले कुटपिट गरेको आरोप लागेको छ । प्रमुख प्रशासकीय अधिकृत कुटिएपछि गौरीगंगा नगरपालिका कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीको सुरक्षाको प्रत्याभुति नभए सम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु स्थगित गरिएको कर्मचारीहरुले जारी गरेको सयुक्त विज्ञप्तिमा भनिएको छ।
साउन १ गतेका दिन गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि कार्यकक्षभित्रै भएको कुटपिट तथा अभद्र व्यवहारप्रति हामी यस नगरपालिकाका सबै कर्मचारीहरू गहिरो दुख प्रकट गर्दै घोर भत्र्सना गर्दछौं, सुन विज्ञप्तिमा भनिएको छ, सार्वजनिक कार्यालयको मर्यादा भंग गर्ने यस्ता अमानवीय क्रियाकलापले सम्पूर्ण कर्मचारी समुदायमा भय, त्रास र असुरक्षाको वातावरण सिर्जना भएको छ। कार्यालय तथा कार्यकक्ष जस्तो सुरक्षित ठानिएको स्थानमै कर्माचारीमाथि कार्यालय समयमा नै आक्रमण हुनु निन्दनीय छ । यसले राज्यको कर्मचारी सुरक्षाप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । भविष्यमा यस्ता लज्जास्पद र अमर्यादित अमानवीय प्रकृतिका क्रियाकलाप गर्ने दुस्साहस नगरियोस् । यस घटनाको तत्काल, निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी कर्मचारीहरुलाई सुरक्षित तबरले काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौ ।



कुटपिटको कारण भने खुलेको छैन। मेयर कडेल र प्रमुख प्रशासकीय अधिकृतबीत केही समयदेखि विवाद रहेको बताइएको छ । हाकिम सापको कार्यशैलीप्रति मेयर साप पहिलेदेखि नै खुसी थिएनन्, गौरीगंगा नगरपालिकाका एक कर्मचारीले भने, उहाँ (प्रमुख प्रशासकीय अधिकृत) ले काम गर्दा सल्लाह नगर्ने र एकलौटी रुपमा काम गर्दै आउनुभएको थियो। त्यहीं विवाद बढेको हुनसक्छ ।

























