डडेल्धुराः डडेल्धुरा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम तालिका अनुसार जिल्लाका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चितता गरिएसँगै आज (शनिवार) पूर्णखोप जिल्ला घोषणा गरिएको हो ।



स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदका अनुसार जिल्लामा २०८१ माघ महिनाबाट सुरु भएको घरधुरी सर्वेक्षणमा जन्मदेखि १५ महिनासम्मका जम्मा २ हजार ३८३ जना बालबालिकामध्ये ३ जना शून्य डोज र २७ जना केही न केही खोप छुट भएको पाइएको र १६ महिनादेखि ५९ महिनासम्मका ७ हजार ५२० जना बालबालिकाहरूमध्ये ३ जना शून्य डोज र ७० जना केही न केही खोप छुट भएका बालबालिका भेटिएका थिए। खोप छुट भएका सबै बालबालिकालाई वैशाख महिनासम्म राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै खोप लगाइएको थियो ।
छुट पहिचान गरी स्थानीय तहमा कार्ययोजना बनाई पूर्णखोप सुनिश्चितता निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेको र प्रदेश पूर्णखोप समन्वय समितिले भेरिफिकेसन गरी पूर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपनका लागि अनुमतिसमेत प्रदान गरेपछि शनिबार डडेल्धुरालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको कार्यालयका प्रमुख साउँदले बताउनु भयो ।
उहाँका अनुसार राष्ट्रिय खोप कार्यक्रम प्रभावकारी रूपमा संचालन भएकै कारण खोपबाट बचाउन सकिने रोगहरू लाग्ने दरमा कमि आएको, रोगहरूले गर्दा हुने अपांगता दरमा कमि आएको र बाल मृत्युदर उल्लेख्य रूपमा घटाउन सकिएको छ । नेपालमा सरकारले १३ प्रकारका खोप निःशुल्क रूपमा उपलब्ध गराउने गरेको छ । डडेल्धुरालाई पहिलोपटक १० पुस २०७२ मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिँदै आएको छ ।
घोषणा कार्यक्रमको अवसरमा अभियानमा सक्रियतापूर्वक सहभागी हुने स्वास्थ्यकर्मी र पालिकालाई नगद सहित प्रशंसापत्रले सम्मान गरिएको छ । एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ ।
स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीको संलग्नतामा तयारी र योजनासहित घरपरिवार सर्वेक्षण गरी सर्वेक्षणको क्रममा खोप पूरा नगरेका बालबालिका भेटिए तत्काल खोप लगाउने व्यवस्थासमेत मिलाई सबै बालबालिकाले उपलब्ध सबै खोप पाएको सुनिश्चत गरेपछि वडा घोषणा गरिन्छ । सबै वडा घोषणा भएपछि पालिका र सबै पालिका घोषणा भएपछि जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

























