डडेल्धुराः “स्वदेशमा नै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जानै परे, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने नाराका साथ डडेल्धुरामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ।
आज (बिहिवार) अमरगढी नगरपालिका रोजगार शाखाको आयोजनामा सम्पन्न सो कार्यक्रमले वैदेशिक रोजगारीका अवसर, चुनौती र सुरक्षाका पक्षमा पत्रकारहरु संगको छलफल तथा अन्तरक्रिया गरेको हो।



हालसम्म नेपालबाट ७८ लाखभन्दा बढी नेपाली नागरिकहरुले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएक छन्। वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स नै नेपालको अर्थतन्त्रको मेरुदण्ड बनेको स्पष्ट छ। पछिल्लो तथ्यांकअनुसार नेपालमा एक महिनामै डेढ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ भने वार्षिक रुपले १४ खर्बभन्दा बढी रेमिट्यान्स देशमा भित्रीने गरेको बताइएको छ।
धेरैजसो नेपाली कामदार खाडी मुलुकहरू र मलेसिया जाने गरेका छन्। नेपाल सरकारले हालसम्म विश्वका विभिन्न १११ देशलाई वैदेशिक रोजगारीका लागि अनुमति दिएको छ। यति ठूलो संख्यामा नागरिक विदेशिने क्रम बढिरहँदा उनीहरूको सुरक्षालाई सुनिश्चित गर्न राज्यको भूमिका अझ सशक्त बनाइँदै आएको छ।
यद्यपि, वैदेशिक रोजगारीमा जाँदा कामदारले भोग्नुपर्ने जोखिम भने कम छैन। कार्यक्रमका प्रस्तुतकर्ता SA MI कार्यक्रम अधिकृत विष्णु अर्यालले दिएको जानकारीअनुसार गत वर्ष मात्रै १,३४६ जना नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन्। मृत्युको मुख्य कारणमा मृगौला सम्बन्धी समस्या, हावापानीको असहजता, ट्राफिक नियम र सम्बन्धित देशको कानुनी जानकारीको अभाव, तथा कामदारहरुको सीप र दक्षता नहुँदा दुर्घटना हुने गरेको उल्लेख गरिएको छ। साथै हजारौं संख्यामा दुर्घटना बाट घाइते तथा अपांग भएर आउने, कैयौं जेलमा बसिरहेका र कैयौं लाई मृत्युदण्ड समेत दिइएको डरलाग्दो तथ्यांक वैदेशिक रोजगार विभागसँग रहेको जनाइएको छ।
सुदूरपश्चिम प्रदेशबाट मात्र यस वर्ष ४० हजारले श्रम स्वीकृति लिएको तथ्यले यो क्षेत्र वैदेशिक रोजगारीको मुख्य स्रोत क्षेत्र बनेको देखिन्छ। यही सन्दर्भमा सुदूरपश्चिमका ८ जिल्लाका १५ वटा स्थानीय तहहरूमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भइरहेको छ।
कार्यक्रममा सहभागीहरूलाई श्रमका अधिकार, कामदारको बीमा, सामाजिक सुरक्षा कोष र सरकारी सहयोगका विविध पक्षबारे जानकारी दिइयो। विशेष गरी श्रमिकको मृत्यु भएमा वैदेशिक रोजगार बोर्डबाट १० लाख रुपैयाँसम्म राहत दिने, ठगीमा परेमा अनलाइन माध्यमबाट उजुरी दिन सकिने, र शव घरसम्म पुर्याउने व्यवस्था गरिएको जानकारी दिइयो।
सामी कार्यक्रमले सञ्चारकर्मीहरूमार्फत जनस्तरमा वैदेशिक रोजगारीबारे सही जानकारी फैलाउनुपर्नेमा जोड दिएको छ। केवल विदेश जानु मात्र समाधान होइन, जानुअघि सीप सिक्ने, कानुनी समझदारी बनाउने र स्वास्थ्यको ख्याल गर्ने संस्कृति बसाल्न सके मात्र वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सकिने धारणा कार्यक्रममा व्यक्त गरियो।
कार्यक्रमले वैदेशिक रोजगारीको यथार्थ उजागर गर्दै आम सर्वसाधारणमा सचेतना फैलाउने,सुरक्षित आप्रवासन कार्यक्रमको विस्तार र प्रभावकारी कार्यान्वयन नै वैदेशिक रोजगारीमा जाने श्रमिकको जीवन र भविष्यलाई सुरक्षित बनाउन सक्ने तथ्य कार्यक्रममा प्रष्ट पारिएको थियो।

























