काठमाडौं । बेलायतले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि ४५.८ मिलियन पाउण्ड (करिब ७ अर्ब १४ करोड रुपैयाँ ) बराबरको आर्थिक सहयोग गर्ने भएको छ।



अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद्बीचको भिडियो कन्फ्रेन्स छलफलमा यो सहयोग प्याकेजको घोषणा गरेको छ ।कोरोना भाइरसको महामारीको कारण नेपालमा भएको कठिन अवस्थालाई सम्बोधन गर्न बेलायत सरकारले यो सहयोग प्याकेज उपलब्ध गराउन लागेको हो।
अर्थमन्त्री डा. खतिवडाले बेलायत सरकारलाई कठिन समयमा नेपालका लागि ठूलो सहयोग गरेकोमा धन्यवाद दिएका छन्। अर्थमन्त्रीले वित्तीय पहुँच र वित्तीय समावेशिता सम्बन्धी नीति तर्जुमा र कार्यान्वयनमा बेलायत सरकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । अर्थमन्त्रीले कार्वन उत्सर्जनमा नेपालको नगण्य अंश भएतापनि जलवायु परिवर्तनबाट नेपाल उच्च जोखिममा रहेको उल्लेख गरे ।
उनले हरित प्रविधि, वन क्षेत्रको विस्तार, नविकरणीय उर्जा र जैविक विविधता संरक्षणमा नेपालले जोड दिएको बताउदै विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमाली क्षेत्रको संरक्षण गरी जलवायु परिवर्तनको असरबाट सुरक्षित राख्न विश्व समुदायले अग्रसरता लिनुपर्ने बताए ।

























