कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०८२।८३ का लागि १ अर्ब बढीको बजेट प्रस्तुत गरेको छ। मंगलबार नगरपालिकाको १७ औँ नगरसभा मार्फत उपप्रमुख द्रोपती रानाले १ अर्ब २ करोड २८ हजार ४५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन्।



प्रस्तुत बजेटमा नगरपालिकाले आन्तरिक आयतर्फ ८ करोड रुपैयाँ संकलन गर्ने अनुमान गरेको छ। त्यस्तै संघीय सरकारबाट बित्तीय समानीकरण अनुदान अन्तर्गत १५ करोड १९ लाख रुपैयाँ र प्रदेश सरकारबाट १ करोड ४९ लाख १३ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट १५ करोड ३० लाख ९३ हजार ४५१ रुपैयाँ र प्रदेश सरकारबाट ४७ लाख २१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। सामाजिक सुरक्षा कोषतर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, संघीय सरकारको सशर्त अनुदानतर्फ २५ करोड १ लाख रुपैयाँ र प्रदेश सरकारको सशर्त अनुदानतर्फ १ करोड ९६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
अन्य शीर्षकहरूमा संघीय सरकारको समपुरक अनुदान ८३ लाख रुपैयाँ, प्रदेश सरकारको समपुरक अनुदान २ करोड १० लाख रुपैयाँ, संघीय सरकारको विशेष अनुदान ४ करोड ५५ लाख रुपैयाँ र प्रदेश सरकारको विशेष अनुदान ४० लाख रुपैयाँको अनुमान गरिएको छ। यसअघि चालु आर्थिक वर्ष २०८१।८२ मा कृष्णपुर नगरपालिकाले ९७ करोड ५ लाख ६० हजार रुपैयाँको बजेट ल्याएको थियो।

























