२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

ऐतिहासिक अजयमेरुकोटको पुनर्निमार्ण सुरु

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाँउपालिका – २ मा रहेको ऐतिहासिक कोटको पुनर्निमार्णको कार्य थालनी भएकोछ । दरबारकै नामबाट स्थापित अजयमेरु गाउँपालिकाको ७८ लाख रुपियाँ लागतमा दरबारको पुनर्निर्माणको काम सुरु गरिएको हो ।
चालु आर्थिक वर्ष २०८१।८२ मा गाउँपालिकाले ९० लाख रकम विनियोजना गरेपछि गत फागुन महिनामा पुरातत्व विभागले अजयमेरुकोट खण्डहरुका रुपमा रहेको दरबारको उत्खनन् गरेको थियो । उत्खननमा देखिएको दरबारको शैली अनुसार पुनर्निर्माणको काम गरिने गाउँपालिकाका प्राविधिक रतन ऐरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दरबरको जगसम्मै उत्खनन् गरी पुनर्निर्माण गरिन लागेको छ । यसका लागि दक्ष कालिगढ भक्तपुरबाट आउनुभएको छ । दरबारको संरचना जस्ताको त्यस्तै र तीन मिटर उचाई भएका पर्खालहरु निर्माण गरिने छन् । छानोबिनाको भग्नावशेष अवस्थामा रहेको दरबार उत्खनन् गर्दा भेटिएका संरचना अनुसार निर्माण गरिने उहाँले बताउनुभयो ।

उत्खनन् र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुनसक्ने देखिएको थियो । बिचमा गल्लि, एकातिर तीन र अर्को तिर चार कोठा गरी भूई तलामा सात र माथि जाने ढुङ्गाको सिंढी पनि भेटिएकाले दुई तले भवनमा करिब १४ कोठाको मूख्य दरबार रहेको हुनसक्ने खुलेको थियो । मुख्य दरबार क्षेत्रमा दरबारसंँगै एक तले भवन, मण्डली, सुरक्षा टावरलगायतका गरी १० वटा ढुङ्गे संरचना भएको भेटिएका थिए ।

डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको उत्खननका समयमा पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवम् पुरातत्वविद भाष्कर ज्ञवालीले बताउनुभएको थियो । पहिलो पटक उत्खनन् गरी अध्ययन, अनुसन्धान गरिएको अजयमेरुकोट यहाँको कलाकृती र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र नै रहेको पाइएको उहाँको भनाइ थियो ।

उहाँका अनुसार अजयमेरुकोटको बिशिष्ट कलाकृती र निर्माण शैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरुभन्दा फरक रहेको छ । यहाँ बिचमा मण्डप बनाएर दायाँ बायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउलाहरु विशिष्ट किसिमका छन । यो नेपालकै उत्कृष्ट कलाकृतिका रुपमा रहेको छ । उहाँले भन्नुभएको थियो ।

उहाँका अनुसार अजयमेरुमा थुप्रै किसिमका १३औँ, १४औँ शताब्दिका कोटदेखि लिएर किल्लाको रुपमा रहेको छ । अजयमेरुकोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरु, डबलीहरु, सुरक्षा गर्न बनाइएका टावरहरु, रानी गुफा, कुवाहरु र राज दरबारसँग सम्बन्धित थुप्रै ढुङ्गे संरचनाहरु छन् ।

यसैसँग जोडिएको हाट गाउँमा ढुङ्गे देवलहरु, मण्डली र नाउलाहरु रहेका छन् । कोट आफैँमा सार्वजनिक स्वमित्वमा रहेको छ । तर हाट गाउँमा रहेका ढुङ्गे देवलहरु, नाउला र मण्डलीहरु नीजि स्वामित्वमा रहेका छन् ।

अजयमेरुकोटमा निरय पाल र नागी मल्लको अभिलेख पाइएका छन । पहिले नपढिएका केही अभिलेखहरु अहिले हामिले उतार गरेका छौँ । उहाँले भन्नुभयो, ‘‘यसको क्रस चेक गर्छौ । विषय विज्ञहरुसँग बसेर अध्ययन गर्छौ । यहाँ १३औँ शताब्दिका संरचनाहरु यत्रतत्र छरिएर रहेका छन् ।’’

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।