डडेल्धुरा (पुष्पराज भट्ट)- नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले डडेल्धुरामा युवा नेतृत्वको सशक्त संकेतस्वरूप करन बोहरालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ। बोहरा देशकै कान्छा तरुण दल जिल्ला अध्यक्षमध्ये एक मानिन्छन्। तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले उनलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।




बोहराको जन्म वि.सं. २०५३ साल फाल्गुन ११ गते डडेल्धुरामा भएको हो। उनी सानै उमेरदेखि राजनीतिमा गहिरो चासो राख्थे। उनले सक्रिय राजनीति सुरु गरेको समय २०७८ सालदेखि हो भने सामाजिक गतिविधिमा चाहिँ उनी अग्रसर थिए। उनी भन्छन्, समाजको लागि केही गरौँ भन्ने चाहनाले नै मलाई राजनीतिमा सक्रिय बनायो।

बोहरा सामाजिक सेवामा पनि उत्तिकै संलग्न छन्। विभिन्न स्थानीय विकासका पहलहरू, युवामुखी कार्यक्रमहरू, र दुर्गम क्षेत्रका समस्याहरू समाधान गर्न उनी निरन्तर लागिरहेका छन्। यसै आधारमा, स्थानीय तहदेखि तरुण दलको केन्द्रसम्म उनको सक्रियता पहिचान बनिरहेको छ।
अध्यक्ष नियुक्ति पश्चात् आफ्नो प्रतिक्रिया दिँदै उनले भने, डडेल्धुराको समृद्धिका लागि म प्रतिबद्ध छु। यो जिम्मेवारीले मलाई थप प्रेरणा दिएको छ। विशेषगरी युवामुखी कार्यक्रम र क्षमता विकासलाई प्राथमिकता दिनेछु।

बोहराका अनुसार, अबको लक्ष्य भनेको जिल्लामा युवालाई नेतृत्वदायी भूमिकामा सक्रिय बनाउनु र उनीहरूलाई अवसरका साथ राजनीतिक रूपमा सक्षम बनाउनु हो।
डडेल्धुराका युवाहरूले करन बोहरालाई युवा आवाजको प्रतिनिधिका रूपमा हेरेका छन्। धेरैले उनको नेतृत्वमा जिल्लामा नयाँ विचार र ऊर्जाको प्रवाह हुने विश्वास व्यक्त गरेका छन्।


























