डडेल्धुराः डडेल्धुराका ७ हजार बढी किशोरीहरुलाई एचपीभी खोप दिने तयारिमा स्वास्थ्य कार्यालय डडेल्धुराको तयारि रहेकोछ । देशैभर सञ्चालन हुने अभियान अन्तर्गत डडेल्धुरामा पनि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।



किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा आवश्यक तयारी भइरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर बहादुर साउदले जानकारी दिनुभयो ।
क कसलाई दिईदै छ खोप –
अभियान अन्तरगत कक्षा ६ देखि १० सम्म अध्ययनरत जिल्लाका ७ हजार ५ सय किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिने लक्ष्य रहेको कार्यालय प्रमुख केशर साउदले बताउनुभयो ।
यस्तो छ स्वास्थ्य कार्यालय डडेल्धुराको तयारिः
अभियान अन्तर्गत जिल्लाका सबै बिद्यालयमा खोप केन्द्र राखिएको र बिद्यालयमा यो कार्यक्रम सम्पन्न भइसके पछि स्वास्थ्य संस्थामा कार्यक्रम राखेर छुटेका किशोरीहरुलाई समेत खोप दिने लक्ष्य राखिएको साउदले बताउनु भयो ।
एचपीभी खोपबारे सबै स्वास्थ्यकर्मीहरुलाई तालिम दिइसकेको उहाँले उनको भनाई रहेकोछ । अहिले पालिका स्तरमा कार्यक्रम सञ्चालनमा रहेको प्रमुख साउदले जानकारी दिनुभयो ।
यो खोप सुरक्षित र ९५ प्रतीशत प्रभावकारी भएकाले सम्पूर्ण किशोरीहरुलाई खोप कार्यक्रममा सहभागि हुन समेत प्रमुख साउदको आग्रह छ ।
एचपीभी खोप के हो ?
पाठेघरको मुखको क्यान्सरविरुद्घ लगाइने खोपलाई हृयुमन प्यापुलोना भाइरस अर्थात् (एचपीभी) खोप भनिन्छ ।
– पाठेघरको मुख क्यान्सर लगायत एचपीभी भाइरसका कारण लाग्ने अन्य रोगबाट बच्न
कसले लगाउने ?
– जति कम उमेरमा लगायो, त्यति राम्रो
– ९ देखि १४ वर्ष उमेर समूहमा सबैभन्दा प्रभावकारी
– महिलाले पनि चिकित्सकको सल्लाहअनुसार लगाउन सक्ने
कहाँ पाइन्छ ?
यो खोप निजी अस्पतालमा लगाउन सकिन्छ । हाल सरकारले सो खोप कार्यक्रम अभियानमार्फत निःशुल्क उपलब्ध गराउँदैछ ।
निःशुल्क खोप कसका लागि ?
– कक्षा ६ देखि १० सम्मका छात्रा, विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरी
खोप अभियान कहिलेबाट ?
– माघ २३ गतेदेखि फागुन ६ गतेसम्म गरी १५ दिन चल्ने ।
कुन कम्पनीको खोप दिइँदैछ ?
– नेपालमा हाल चीनमा बनेको सिकोलिन ब्राण्डको खोप उपलब्ध दिइने तयारी गरिएको छ ।
कति मात्रा लगाउनुपर्छ ?
– यो खोप एकपटक लगाए पुग्छ ।
यो खोप कति प्रभावकारी ?
– यो खोप ९१ प्रतिशत प्रभावकारी हुने दाबी गरिएको छ । यौन जीवनमा सक्रिय हुनुपूर्व लगाउन सके शतप्रतिशत सुरक्षित राख्छ ।
खोप कहाँ लगाउन पाइन्छ ?
– सातवटै प्रदेशमा रहेका सरकारी तथा निजी विद्यालय र नजिकैको स्वास्थ्य संस्थामा लगाउन पाइन्छ ।
व्यक्तिगत रुपमा लगाउन पाइन्छ ?
– यो खोप अभियानको दायरामा नपर्ने महिलाले निजी अस्पतालमा गएर लगाउन पाउँछन् ।
कति खर्च लाग्छ ?
– नेपालमा एचपीभी खोपको मूल्य निजी क्षेत्रमा तीन हजारदेखि १० हजार रुपैयाँसम्म पर्न सक्छ ।
यो खोप नलगाउँदा के हुन्छ ?
– यदि खोप लगाइएन भने एचपीभी भाइरसको संक्रमण भई पाठेघरको मुखको क्यान्सरको जोखिम हुनसक्छ । हरेक वर्ष नेपालमा पाठेघर मुखको क्यान्सरबाट वार्षिक दुई हजारको मृत्यु हुने गरेको छ ।
यो खोप मेडिकल ट्रायलका लागि त हैन नि ?
नेपालमा एचपीभी खोप स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहकार्यमा पाठेघरको क्यान्सरबाट बचाउन कार्यक्रम अन्तर्गत प्रदान हुन लागेको भरपर्दो खोप हो ।



























