कोरोना भाईरस संक्रमण बाट थप ४ जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिला, अर्घाखांचीका ५५ वर्षीय पुरुष, पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो।



पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले विज्ञप्ती जारी गरी बताए।
गत भदौ ७ गते कोरोना पुष्टि भइ ती महिला अस्पतालमा भर्ना भएकामा बुधबार राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा राखेर उपचार शुरु गरिएको उनले बताए।
यस्तै ललितपुरको किस्ट अस्पतालमा उपचाररत अर्घाखांचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो।
यसैबीच वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो।
भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो। उनको उपचारका क्रममा भदौ १० गते साँझ ६ः२२ बजे निधन भएको नारायणी अस्पतालले जनाएको छ। रिपोर्ट पोजेटिभ आएपछि उनलाई गण्डक कोभिड अस्पतालमा सार्न खोजिएको थियो। त्यही क्रममा उनको मृत्यु भयो। उपचारमा संलग्न चिकित्सकका अनुसार कोभिड संक्रमण पुष्टि भएपछि आफन्तले उनलाई अस्पतालमै छोडेर गए।
हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा पेटमा थियो। भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो। उपचारकै क्रममा भदौ ११ गते बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

























