डडेल्धुराः डडेल्धुराको अन्तिम मेलाको रुपमा मनाईने मेला मष्टा मेला सम्पन्न भएकोछ । तिहार पछि विभिन्न मठ मन्दिरमा हुने पूजापाठसंगैका मेला यस वर्षका लागि सकिएका छन । धार्मिक परम्परा र यहाँको मौलिक संस्कृतीसंगै गरिने पूजापाठ र मेलापात मष्टा भगवतीको पूजाआज मेला सम्पन्न भए पछि यहाँ मनाईने मेला(जाँतहरु) सकिएका हुुन । नवदुर्गा गाउँपालिका १ भाडीवन डाडामा रहेको मष्टा भगवती मन्दिरमा पूजाआजसंगै लागेको मेला यो वर्षको अन्तिम मेला हो ।



सुदूरपश्चिम प्रदेशको मौलिक कला संस्कृति र धार्मीक परम्परा अनुसार पूजापाठ गरी मनाइने जाँत मष्टा भगवतीको पूजापाठ सोमबार सम्पन्न भएको छ । प्रत्येक वर्ष पूर्णिमा अर्थात उग्रतारा भगतवती मेला देहिजाँतको ठीक एक महिनापछि हुने मष्ठा भगवती र नवदुर्गा जाँत विधिवत रूपमा पूजापाठ भएसँगै यहाँका मठमन्दिरहरुमा हुने विभिन्न देवि देवताका मेला सकिन्छन । मेलामा देउडा खेल खेली जाँत सम्पन्न हुने गर्छ ।
मष्टा भगवतीमा प्रत्येक नयाँ वर्ष वैशाख १ गते विशु जाँत, दशैंका दिन दशैं जाँत र मुख्य रूपमा लिइने पूर्णिमामा पूजापाठ गरिन्छ । धार्मिक विधिवत रूपमा यस क्षेत्रका पाँच गाँउबाट बाजागाँजासहित धामी काप्दै नेजा ध्वजा लिइ चोलो आएपछि भाका बैजाली हुन्छ । गाउँपालिका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थीका अनुसार न्वाघर, सेटीगाउँ र बजाडी गाउँबाट देउरो आएर पूजा गरिने चलन छ । यससंगै सुदूरको संस्कृति छाला नृत्य र देउडा खेल खेल्दै मष्ठा भगवतीको जाँत सम्पन्न हुन्छ ।
यस्तो छ ईतिहासः
असिना पानीले स्थानीयले लगाएको अन्नबालीसँगै फलफूल नष्ट पारेपछि गाउँ–गाउँमा अनिकाल निम्तियो । अनिकालको रोकथामका लागि मष्टा भगवतीमा पूजापाठ गरिएसँगै मष्टा भगवतीमा जाँत गर्ने परम्परा रहिआएको नवदुर्गा गाउँपालिका अध्यक्ष अवस्थीले बताएका छन् ।
मष्टा भगवतीमा नयाँ वर्ष विशु पर्व र दशैंमा बोका राँगाको बलीसमेत दिने चलन रहेकोछ। नवदुर्गा १ कोटेलीका स्थानीयवासी बोहरा परिवारले प्रत्येक वर्ष विशु पर्वका बेला गरिने पूजापाठमा अनिवार्य रूपमा एउटा बोका र एउटा राँगाको बली दिइने प्रचलन छ । उनले भने, ‘अरूहरूले मानोकामना प्राप्तिका लागि भाकल गर्छन् र बोका राँगाको बली दिने गरेका छन ।’ आफूले कुनै बर मागेअनुसार प्राप्त गरि सकेपछि बलि दिने चलन रहेको छ ।
मष्टा भगवतीमा हालसम्मकै विश्वको सबैभन्दा अग्लो भनिएको माता भगवतीको मूर्ति निर्माण गरिएको छ । भगवती माताको बहान सिंहमाथि आसनको गरेको ४५ फिट अग्लो मूर्ति निर्माण गरिएको छ । धार्मिक आस्थासँगै पर्यटन प्रवद्र्धनका लागि अहिलेसम्म संसारमा सबैभन्दा उचाई भएको भगवतीको मूर्ति निर्माण गरिएको उनको भनाई छ । मूर्ति निर्माणसँगै मेलालाई व्यवस्थित बनाउन व्यापार व्यवसाय गर्नका लागि अलगअलग स्थान तोकिएको छ ।
असिना पानीले खाद्यान्न बाली नष्ट हुन थालेपछि मष्टा भगवतीको पूजापाठले जोगिएकाले सुदूरपश्चिमलगायत अन्य जिल्ला र सीमा जोडिएका भारतीय जिल्लाहरुबाट समेत श्रद्धालु भक्तजन मष्टा भगवतीमा पुग्ने गरेका छन ।
नवदुर्गा गाउपालिकाको वडा नं. १ र २ को सिमाना रहेको अग्लाअग्ला सल्लासहित गोला आकारको भिरालो मैदानमा मष्टा भगवती मन्दिर रहेकाले भौगोलिक दृष्किोणमा पनि रमणिय स्थतामा मन्दिर छ । डडेल्धुराको अन्तिम जाँत भएकाले पनि मष्ठा भगवती मन्दिरको जाँतमा डडेल्धुराका अधिकांस स्थानबाट स्थानीय पुग्ने गरेको छन ।

























