सुदूरपश्चिम सरकारद्वारा ‘हाईअर्लट’ सूचना जारी
डडेल्धुरा–बिहीबार देखि शनिबार सम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनी देखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी वर्षाको अनुमान गरेको छ । ‘सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ ।
भारी वर्षा हुने स्थानमा भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले डुबानको समस्या आउने महाशाखाको भनाइ छ । सो अवधीमा सुदूरपश्चिम प्रदेशमा मनसुनी वर्षा सक्रिय हुने र त्यसबाट क्षति पुग्न सक्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकारले ‘हाइ अलर्ट नोटिस’ जारी गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जोखिमका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई २७ गते साँझ देखि २९ गते बिहानसम्म उच्च सुरक्षा सतर्कता अपनाउन अपिल गरेको हो । मन्त्रालयका प्रवक्ता उपसचिव कृष्णप्रसाद नेपालले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको भए पनि हाल भारतको मध्यप्रदेश क्षेत्रमा अवस्थित न्यून चापीय रेखा थप विकसित भई उत्तरप्रदेशतिर सर्ने र सुदूरपश्चिममा सक्रिय भई भारी वर्षा हुने सम्भावना रहेको जनाएका छन ।
बाढी ,पहिरो, डुबान कटानको जोखिम देखिएकोमा सम्बन्धित जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति सुरक्षा निकाय र रेडक्रस सोसाइटीलाई तुरुन्त खबर गर्न, बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आकलन गरी सुरक्षाकर्मी एवं स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानमा सर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
बाढीका बारेमा जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ मा फोन गर्न, विपदमा ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति ,महिला, बालबालिकाको विशेष ध्यान राख्न, सम्बन्धित विपद्लाई ध्यानमा राखी खोज उद्धार र राहतका लागि सम्बन्धित निकायहरू तयारी अवस्थामा रहन भनिएको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा पछिल्ला बर्षहरुमा भदौ अन्तिम सातादेखि असोज दोस्रो साताको बीचमा भारी बर्षा हुने र बर्षेनी जनधनको क्षति हुने गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरेर कार्यान्वयन गरिरहेको भए पनि पुर्व तयारीका कृयाकलापहरु प्रभावकारी नहुँदा जनधनको क्षति हुने गरेको सरोकारवालाहरु बताउछन ।