डडेल्धुरा(डि.आर भट्ट)- पछिल्ला दिनहरुमा सुदूर पहाडका जिल्लामा गौराको रौनक बढ्दै गएकोछ । केही डेउडा खेल, कही धुमारी त कही चैतलीका भाकाहरु सुन्न सकिन्छ ।
गौरा विशेषगरी कर्णाली र सुदूरपश्चिममा मनाउने गरिन्छ । पछिल्लो समयमा यस क्षेत्रबाट बसाइँसराइ जाने नागरिहरुले पनि आफु बसोबास गर्ने क्षेत्रमा गौरा विभिन्न तरिकाले मनाउँदै आएका छन् ।
बुढापाकाहरुले डेउडा, चैतली, धुमारी गाएर गौरा मनाउने गर्थे भने अहिलेको युवा पीडि भने यस विषयमा खासै जानकार छैनन् । kछिल्लो समयमा युवा पीडिमा कला, संस्कृति जर्गेना गर्नका लागि स्थानीय तह तथा संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।
यस्तै डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०८१’ विगतका वर्षहरूझैँ यसवर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिको आयोजनामा बागबजार बसपार्कमा ‘राष्ट्रिय गौरा महोत्सव २०८१’ बुधबारबाट शुरु भएको हो ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बुधबार महोत्सवको उद्घाटन गरेका हुन् ।
स्थानीय कला संस्कृतिको सम्मान तथा युवापिँढीमा हस्तान्तरण होस् भन्ने महोत्सवको उद्देश्य रहेको आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराका अध्यक्ष देवराज भट्टले जानकारी दिए ,महोत्सवमा गौरा नाच, बालो नाच, चैत, धुमारी, देउडा जस्ता सांस्कृतीक कार्यक्रमहरू हुँदैछन् । महोत्सवमा सहभागी भएर आफ्ना सांस्कृतिक धरोहरको संरक्षण र प्रर्वद्धनमा योगदान पु¥याउन राधाकृष्ण मन्दिर विकास समितिले आग्रह गरेको छ ।
बुधबारदेखि शुरु भएको महोत्वस गौरा देवीको धार्मिक परम्पराअनुसार भदौ १६ गते विसर्जन गरी महोत्सवको समापन गरिने समेत अध्यक्ष भट्टले जानकारी दिए ।
गौराको महत्व –
पञ्चमीदेखि हुरु हुने गौरा पर्वको पहिलो दिन बिरुडा -गहुँ, गहत, गुराँस, सानो केराउ, मास_ भिजाउने चलन रहि आएको छ । बिरुडालाई पञ्चाखिरी शिव मन्त्रको प्रतिक मानिने गरिन्छ । बिरुडा भिजाएर शुरु हुने पर्वको दोस्रो अर्थात् षष्ठीका दिन गेडागुडीलाई नजिकैको नदी, पोखरी वा धारामा धुने गरिन्छ ।
सप्तमीका दिन महिलाहरु खेतमा गएर धान, बलु, कुस, दुबो, साउँ, पाती, कुर्जो, तिल र अपमार्ग गरी नौ प्रकारका बिरुवाहरुलाई गौराको रुपमा भित्र्याउने चलन छ । आयुर्वेदको दृष्टिकोणले महत्वपूर्ण यी बिरुवालाई नवदूर्गाको प्रतीकको रुपमा लिने गरिएको छ । यसैलाई गौरा भन्ने गरिन्छ ।
गौराको इतिहासः
‘गौरा’ शब्द संस्कृत साहित्यको ‘गौरी’ शब्द बाट अपभ्रंश हुँदै उत्पन्न भएको हो । हिन्दु धार्मिक ग्रन्थमा माता पार्वतीको सुन्दर स्वरूपको रूपमा गौरीको वर्णन गरेको पाइन्छ । यस पर्वमा विशेष गरेर माता पार्वतीले भगवान् शिवलाई पति पाउन गरेको ध्यान, तपस्या लगायत स्थानीय मौलिकतामा आधारित शिव शक्तिको मिलनको कथा गौरा गीतमा वर्णन गरिएको छ ।
सतीदेवीले यज्ञकुण्डमा आत्मदाह गरेपछि भगवान् शिवले भावविह्वल भई सतीदेवीको शवलाई बोकेर संसारको भ्रमण गर्ने क्रममा सतीदेवीका अङ्ग पतन भएको ठाउँमा शक्तिपीठ र भगवान् शिवले विश्राम गरेको ठाउँमा शिवालय उत्पन्न भएको देखिन्छ ।
परदेशीहरु घर फर्कंदैः
सुदूरमा गौरा भित्रिएसँगै अरु चाडपर्वहरु पनि भित्रिने गर्दछन् । विशेष गरी गौरापछि दशैँ तिहार, होली, नयाँ वर्ष मुख्य चाडपर्वको रुपमा रहेका छन् । चाडपर्व मनाउनुका लागि कामका सिलसिलामा घर बाहिर गएकाहरु घरमा आउने गर्छन् । गौरा मनाउनकै लागि परदेशीहरु गाउँघरमा भित्रिएसँगै गाउँघरको रौनकता बढेको छ ।