धनगढी–सुदूरपश्चिममा कोरोना मुक्त भएर थप एक सय ८९ जना डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट उनीहरुलाई कोरोना जितेको भन्दै घर पठाइएको हो।



बझाङका एक सय ६६ जना, कैलालीका १५ जना, कञ्चनपुर र डोटीबाट चार/चार जनालाई डिस्चार्ज गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा जानकारी दिए।
उनका अनुसार योसंगै सुदूरपश्चिममा कोरोना जित्नेको संख्या चार हजार पाँच सय ८९ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार तीन सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन्।
अछामका सात सय १३, कञ्चनपुरका पाँच सय ८५, डोटीका पाँच सय ८० र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट दुई सय ७६ र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।
स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस अर्थात संक्रिय संक्रमित ८ सय ६८ रहेका छन्। संक्रमण पुष्टि भएका र लक्षण देखिएका ८९ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।
महाकाली अस्पतालमा ३२, टीकापुर अस्पतालमा २४, सेती प्रादेशिक अस्पतालमा १९, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई÷दुई जना संक्रमितको उपचार भईरहेको छ।
अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन्।


















