डडेल्धुरा- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराले एक वर्षको अवधीमा ५ सय ९६ वटा फर्मको अनुगमन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा उक्त संख्यामा बजार अनुगमन गर्दा १ सय ९४ वटा फर्मबाट लेवल नभएको खाद्य बस्तु जफत गरेको छ । वर्ष भरीको बजार अनुगमनबाट २ लाख ९१ हजार ४१० मूल्य बरावरको म्याद गुर्जेको अखाद्य बस्तु नष्ट गरिएको कार्यालयका सूचना अधिकारी अभिलाषा अर्यालले बताए । गत आवमा एक सय थान खाद्य ऐन बमोजिम खाद्य नमुना र ७३ अनुसन्धानात्मक नमुना समेत संकलन गरिएको जनाईएको छ । संकलन गरिएका नमुनामा ५ वटा प्रतिकुल भेटिएको र ति मध्ये २ नमुनाको सक्कल मिसिल सम्बन्धीत कार्यक्षेत्रमा पठार्ईएको सूचना अधिकारी अर्यालले जानकारी दिए ।
कार्यालयले जिल्ला सदरमुकाम लगायत सात वटै पालिकाहरुमा रहेका उद्योग, होटल तथा अन्य पसलहरुमा नियमित बजार अनुगमनलाई तिव्र बनाएको छ । अनुगमनका क्रममा म्याद नाघेका, मूल्य सुचि नभएका तथा गुणस्तरहिन सामाग्रीलाई जफत गरी नष्ट गर्ने गरिएको छ । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमनलाई तिव्र गरिएको छ । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेवल हेरेर मात्र खरिद गर्न आग्रह गर्ने गरिएको कार्यालयले जनाएको छ ।
ब्यापारीहरुले उपभोक्ताको अधिकार हनन हुने गरी गर्न सक्ने गुणस्तरहिन सामाग्रीको बिक्री तथा खाद्य सामग्री चर्को मुल्यमा बेचबिखन गर्ने लगायतका कार्य रोक्न डडेल्धुरामा अनुगमन कार्यलाई निरन्तरता दिईएको कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत गणेश कुमार रोक्काले जनाए । उनले खाद्य ऐन २०२३ अनुसार दुषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थ वा झुक्याएर खाद्य पदार्थ बेच्न नहुने तथा ऐनविपरित भएको पाइएमा पाँच वर्ष कैद वा ५० हजार रुपैैयाँ जरिवाना हुने समेत कानुनी प्रावधान रहेको जानकारी दिए ।