काठमाण्डाै- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमतीको उपचारका लागि सोमबार भारत प्रस्थान गरेका छन् । श्रीमती सीता दाहाललाई लिएर उनी सोमबार बिहान ११ः२० बजेको उडानबाट भारत प्रस्थान गरेका हुन् ।



प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले प्रचण्ड–सीतासँगै छोरीहरू रेनु दाहाल र गंगा दाहालसहितको टोली उपचारका लागि नेपाल एयरलाइन्सको उडानबाट सोमबार बिहान ११ः२० बजे मुम्बई प्रस्थान गरेको जानकारी दिए । उनकाअनुसार सीताको उपचार मुम्बईको न्युरोजेन ब्रेन एनड स्पाइन इन्स्टिच्यटमा उपचार हुने पनि बताए ।
प्रचण्डले भारत जानुपर्ने भएकोले सोमबारको स्थायी कमिटी बैठकमा आउन नसक्ने जानकारी आइतबार नै दिइसकेका थिए । सीता दाहाल २०७४ को दसैंअघि गम्भीर बिरामी परेकी थिइन् । त्यही साल मंसिर ३ गते उनका छोरा प्रकाशको निधन भएको थियो ।
यसअघि २०७५ साउनमा सीतालाई सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगिएको थियो । सो अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको पुष्टि गरेको थियो । त्यसपछि विभिन्न अस्पतालमा उपचार गराइए पनि स्वास्थ्यमा सुधार हुन सकेको छैन ।
२०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पतालमा पनि उनको उपचार गराइएको थियो । यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जलि योगपिठमा समेत उनलाई लगियो । तर पनि स्वास्थ्यमा सुधार भएन । गत बुधबार एक्कासी स्वास्थ्य अवस्था जटिल बनेपछि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

























