सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा विभिन्न घटनामा दुई सय नौ जना व्यक्ति मानव अधिकार उलंघनको घटनाबाट पीडित भएका तथ्याङ्क सार्वजनिक भएको छ ।



अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी प्रतिवेदन सार्वजनिक गरेको हो । सो संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले सन २०२० को जनवरीदेखि डिसेम्बरसम्म २०९ जना व्यक्ति पीडित भएको बताए । उनले राज्यपक्षबाट एक जना महिलासहित १४ जना र गैरराज्य पक्षबाट १२४ जना महिला, ३९ जना बालबालिका गरी १९९ जना पीडित भएका बताए ।
प्रतिबन्धित विप्लब समूहका एक महिलासहित १० जनालाई प्रहरीले गिरफ्तार गरेको इन्सेकले जनाएको छ । गिरफ्तार गरिएकामध्ये पाँच जनालाई पुनः प्रहरीले छुट्ने बित्तिकै पक्राउ गरेको जनाइएको छ । यसैगरी, हिरासत र कारागारमा दुई÷दुई जनाको मृत्यु भएको इन्सेकले जनाएको छ ।
पछिल्लो एक वर्षको अवधिमा १८१ जना बालबालिका पीडित भएको जनाइएको छ । यस्तै, घरेलु हिंसाबाटमात्रै ८१ जना महिला पीडित भएको इन्सेकले जनाएको छ । एक वर्षमा २८ महिलामाथि बलात्कार भएको र १२ जना महिलामाथि बलात्कारको प्रयास भएको जनाइएको छ ।
बोक्सीको आरोपमा दुई जना पीडित भएको, मानव बेचबिखन तथा ओसारपसारमा ११, बहुविवाहमा चार जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । एक वर्षको अवधिमा जम्मा ३९ जना बालिका पीडित भएकोमा ३० जना बालिकामाथि बलात्कार र नौ जना बालिकामाथि यौन दुव्र्यवहार भएको प्रतिवेदनमा उल्लेख छ । बलात्कृत भएका बालिकामध्ये पाँच जना बालिकालाई आफ्नै बुबाले बलात्कार गरेको प्रतिवेदनमा उल्लेख छ ।
जातीय विभेदको घटनामा चार पीडित भएको, तीन जना पत्रकारमाथि कुटपिट भएको, विष्फोटक वस्तु विष्फोट भएर एक जनाको ज्यान गएको, दुई जना प्रहरीको हत्या भएको र परिवारका सदस्यबाटै चार जना महिलाको हत्या भएको इन्सेकले जनाएको छ ।
विभिन्न घटनाको तथ्याङ्कले अझै पनि प्रदेशमा मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको देखाएको छ । मानव अधिकार रक्षाका लागि सरकार गम्भीर हुन आवश्यक रहेको जोशीले बताए । सो संस्थाले प्रतिवेदनमा उल्लेख गरिएका घटनालाई मानव अधिकार वर्ष पुस्तक २०२१ मा उल्लेख गर्ने जनाएको छ ।

























