कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीमा प्रहरी चौकीको पक्की भवन बन्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पुर्व पश्चिम राजमार्ग अन्तर्गत वाणीमा प्रहरीलाई बस्नका लागि कार्यालय भवन बनाउन लागेको हो ।



निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य महेश दत्त जोशीले मंगलबार एक कार्यक्रमका बीच वाणी अस्थायी प्रहरी चौकीको भवनको शिलान्यास गर्नुभयो । भवन शिलान्यास गर्दै उहाँले यसअघि कच्ची भवनमा काम गर्दै आएका प्रहरीलाई अब दैनिक कामकाज सञ्चालनका लागि सहज हुने बताउनु भयो ।
प्रदेश सभा सदस्य जोशीले जनताको सुरक्षाका लागि गाँउगाँउमा सुरक्षाकर्मीको उपस्थिति गराउने उद्देश्य अनुरुप वाणीमा भवन निर्माण कार्य थालनी गरिएको बताउनु भएको छ । जनताको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्न समेत प्रहरीसंग उहाँले अनुरोध गर्नुभएको छ । राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना लगायतका गाँउमा हुने गैरकानुनी गतिविधी रोक्नका लागि वाणी प्रहरीले सकृयता देखाउनु पर्नेमा प्रदेश सभा सदस्य जोशीले जोडदिनुभयो । उहाँले समयमै काम सम्पन्न गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ
सुदूरपश्चिम प्रदेश सरकारबाट वाणीमा प्रहरी भवन निर्माणका लागि प्रदेश सभा सदस्य जोशीकै पहलमा २० लाख रकम बजेट मार्फत भवन बन्न लागेको हो । वाणी प्रहरीको आफ्नै भवन बन्ने भएपछि शान्ति सुरक्षा एवं प्रहरीलाई समेत दैनिक कार्य गर्न सहज हुने स्थानीयको अपेक्षा छ । भवन शिलान्यास कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष जय नारायण जोशी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता एवं जिल्ला सदस्य अर्जुन सिंह साउँद, निर्माण व्यवसायी दान बहादुर सिंह, अस्थायी प्रहरी पोष्टका इन्चार्ज मोहन जोशी लगायतको सहभागिता रहेको थियो । सेतिकाली न्युज बाट

























