डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका–८मा निर्माण भइरहेको डोला चक्रपथमा व्यापक वन फडानी भएको घटनामा डिभिजन वन कार्यालय डडेल्धुराले सूचना लुकाइरहेको छ। सोमवार बरामद गरिएको गोलिया के कति परिणाममा कँहा बरामद गरिएको भनेर एकिन विवरण दिन मानिरहेको छैन्।



स्थानीयहरूले ठूलो रुपमा गोलिया बरामद गरिएको बताएपनि काठमाडौँमा रहेका डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्य भने आफूलाई गोलिया नभएर दाउरा बरामद गरिएको खबर आएको बताउँछन्।
डिभिजन वन कार्यालय डडेल्धुराका सूचना अधिकारी समेत रहेका निमित्त डिभिजन वन अधिकृत डबलबहादुर बोहराले भने सोमबार राति बरामद गरिएको गोलिया के कति मात्रामा छ भनेर सूचना दिन आनाकानी गरिरहेका छन्। ‘म अहिले आलितालमा जाँदै छु। मलाई एकिन थाहा छैन्। विवरण त्यहाँ पुगेर थाहा हुन्छ।’ रेडियो अमरगढीसँगको कुराकानीमा उनले भने।
आफू त्यहाँ जाँदा दाउरा नभएर काठ बरामद गरेको देखेको स्थानीय पत्रकार मनोज रावत बताउँछन्। ‘एक घरमा लुकाएको अवस्थामा काठ बरामद गरिएको थियो। राति भइसकेकोले भोलि एकिन विवरण दिन्छौँ भनेर जानकारी दिइएन्।’ उनले भने, ‘त्यहाँ ठूलो संख्यामा काठ बरामद गरिएको छ। आज लिन खोज्दा आनाकानी गरिरहेका छन्।’
कुनै राजनितिक आडले सूचना लुकाउन खोजिएको समेत उनको आरोप छ। सोमबार राति बरामद गरिएको गोलिया मंगलबार विहानसम्म सूचना अधिकारी बोहराले दिन नमान्नु र डिभिजन वन कार्यालय प्रमुख आचार्यले आफूलाई काठको गोलिया नभएर दाउरा भन्ने खबर आएको छ भनेर जानकारी दिनु नै सूचना लुकाएको कुरामा दुईमत छैन्।
काठ बरामद गर्ने आलिताल सव डिभिजन कार्यालयका रेन्जर सन्तोष भट्टलाई यस बारेमा बुझ्न खोज्दा उनको फोन उठेन्। रेडियो अमरगढी बाट

























