बैतडी-जिल्लाको सिगास गाउँपालिका ३ की १८ बर्षीया किशोरी बलात्कार प्रकरणमा गत हप्ता पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रकरणमा संलग्न ७ जनामाथि मुद्धा दर्ता भइ जिल्ला अदालत बैतडीबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।



पक्राउ परेका ६ जनामाथि बलात्कारको घटना ढाकछोपमा मुद्धा दायर गरिएको छ भने फरार १ जनामाथि जबरजस्तीकरणीबिरुद्धको मुद्धा दर्ता भएको हो । किशोरी बलात्कारका मुख्य आरोपी सिगास ३ का दीपकसिंह धामी फरार रहेका छन् भने उक्त घटनालाई मिलापत्र गराउने सिगास गाउँपालिका ३ का वडाअध्यक्ष शेरसिंह साउँद , स्थानीय राजेन्द्र धामी, नरेन्द्र धामी ,गोपाल धामी, मनोजसिंह धामी र अमर धामीलाई प्रहरीले पक्राउ गरेको छ ।ती किशोरी गत जेठमा बलात्कारमा परेकी भएपनि करिब ७ महिनापछि घटना बाहिर आएको हो । बलात्कारको घटना गत असारमा गाउँमै मिलापत्र गराएको थियो ।
बलात्कृत किशोरीलाई कात्तिक मसान्तसम्म १ तोला सुन दिने भनेर गाउँमै तमसुक बनाएर मिलापत्र गराएको थियो । तर पिडक पक्षले सुन दिनुको सट्टा उल्टै पीडित पक्षलाई धम्की दिन थालेपछि उक्त घटना बाहिर आएको हो ।मुख्य आरोपी भागेर भारतमा लुकेर बसेको भन्ने सुन्नमा आएकोले उनको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

























