सिमसार जलीय र स्थलीय जीव तथा पंक्षीका लागि महत्वपूर्ण स्थान हो । यसले जैविक विविधतामा महत्वपूर्ण योगदान दिएको हुन्छ । प्राकृतिक तालले भरिपूर्ण कैलालीमा थुप्रै सिमसार क्षेत्र छ । जसमध्ये घोडाघोडी ताल क्षेत्र सबैभन्दा ठूलो र महत्वपूर्ण सिमसार हो ।



सन २००३ मा यसलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो । घोडाघोडी सिमसारमा विश्वमै दुर्लभ विभिन्न पक्षी पाइने गरेका छन् । यतिमात्रै नभइ यो विभिन्न पाहुना चरा पनि पाइने गरेका छन् । हिउँद र गर्मी याममा विभिन्न मुलुकबाट चराहरु यहाँ आएर रमाउने गरेका छन् ।
अहिले सिमसारमा आगन्तुक चराको चहलपहल बढेको छ । हरिहाँसका लागि प्रसिद्ध घोडाघोडी तालमा हिउँद यामभरिका लागि आगन्तुक चरा आइपुगेका हुन ।
उपयुक्त आहाराको खोजी र जाडो छल्नका लागि मङ्गोलिया, साइबेरिया, उत्तरी चीनबाट आगन्तुक जलपक्षी यहाँ आइ पुगेको जनाइएको छ । हिउँदमा कैयौं माइल उडेर आगन्तुक चरा घोडघोडीमा आइपुग्ने गरेका छन् ।
पाहुना चराको चिरविर, चिरविर आवाजले अहिले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालको रौनक झनै बढेको छ । पानीमा यत्रतत्र पौडी खेल्दै गरेको र कमलको पातमा ‘क्याटवाक’ गर्दै गरेका चराको दृश्यले मनै लोभ्याउने गरेको छ ।
वास्तवमा सिमसार भएका कारणले अहिले यहाँ विभिन्न देशबाटसमेत आगन्तुक चरा आइपुगेका हुन । यदि, सिमसार नभएको भए पाहुना चराको उपस्थिति हुने थिएन ।
घोडाघोडी घुम्नका र चरा अवलोकनका लागि प्रख्यात मानिन्छ । चरा अवलोकन गर्न रुचाउनेहरुका लागि घोडघोडी सिमसार निकै उत्कृष्ट गन्तव्य बन्न सक्छ । यसले पर्यटन विकासमा टेवा पुग्नेमा कुनै दुई मत हुन सक्दैन । त्यसैले सिमसार जैविक विविधताका लागिमात्रै महत्वपूर्ण छैन, पर्यटनको माध्यमबाट आयआर्जन गर्नका लागि पनि त्यतिकै महत्वपूर्ण रहेको छ ।
यद्यपि, विभिन्न दृष्टिकोणले महत्वपूर्ण सिमसार दिनप्रति दिन मासिदैं गएको छ । सिमसार क्षेत्रमा अनाधिकृत रुपमा मानवीय गतिविधि बढेको छ । सिमसार संरक्षणको मर्म विपरितका कार्यहरु भइरहेका छन् ।
यदि, बेलैमा संरक्षणको कदम अगाडि नबढाउने हो, भोलिका दिनमा सिमसार नरहन पनि सक्छ । अतः जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण सिमसारको संरक्षण हुन आवश्यक छ ।
यसको संरक्षणले इकोसिस्टममा सुधार हुनेछ । यसले भविष्यमा हामी मानवलाई नै फाइदा हुनेछ । त्यसकारण सिमसारको प्रभावकारी संरक्षण जरुरी छ । यसका लागि स्थानीय सरकार र सरोकारित निकायहरुले उपयुक्त नीति, नियम बनाएर प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्दछ ।

























