काठमाडौँमा बलात्कारका घटनामा मिलापत्र गराउनेहरूलाई पनि फौजदारी अपराधमा कारबाही गर्न सरकारले अध्यादेश ल्याइरहँदा बैतडीमा बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र गरेको पाइएको छ ।
बैतडीको सिगास गाउँपालिकाकी १८ बर्सिया किशोरीलाई बलात्कार पछि घटना गाउँमै मिलापत्र गरेको पाइएको छ । गत असार दोस्रो साता सिगास गाउँपालिका वडा नं ३ का दीपक सिंह धामीले आफूलाई बलात्कार गरेको किशोरीले आरोप लगाएकी छन् ।
‘धारामा पानी भर्ना जाँदा बलात्का ग¥यो’ पीडिका एक आफन्तले भने, ‘उनले घरपरिवारलाई सुनाइन् । पीडकले दबाब दिएर घटना गाउँमै मिलाए ।’
घटना बाहिर सार्वजनिक गरे ज्यान मार्ने धम्की समेत दिएको पीडित पक्षको आरोप छ ।
बलात्कारको घटना गाउँमै मिलाउन पीडित किशोरीलाई १ तोला सुन दिने सहमति भएको पाइएको छ । कार्तिक ३० गते भित्र सुन दिने सहमति समेत भएको थियो ।
पीडकका आफन्त मनोज सिंह धामी र अमर सिंह धामीले पीडकले सुन नदिए आफूले दिने आश्वासन दिएका थिए ।
‘पहिला घटना गाउँमै मिलाए । पछि झन् धम्की दिन थाले’ पीडितका एक आफन्तले भने ‘अहिले प्रहरीमा जादैछौँ ।’
अहिले न्यायको लागि किशोरी आफन्तसहित जिल्ला प्रहरी कार्यालय बैतडी पुगेकी छन् । प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले दोषी माथि कडा कारबाही गरिने बताए ।
‘मैले पनि भर्खर घटना बारे जानकारी पाए’ उनले भने ‘किशोरीलाई बलात्कार गरी मिलापत्र गराइएको रहेछ । यसमा संलग्नहरू सबैमाथि कारबाही हुन्छ ।’




























